राष्ट्रियसभा सदस्य उपनिर्बाचनमा तीनजना भिड्दै



काठमाडौं।लुम्बिनीमा राष्ट्रियसभा सदस्यको उपनिर्वाचनका लागि नेकपा एमाले, नेपाली कांग्रेस र नागरिक उन्मुक्ति पार्टीका उम्मेदवारले मनोनयन दर्ता गरेका छन् ।

बुधबार निर्वाचन अधिकृतको कार्यालयमा पुगेर एमालेका कुमार दसौदी, कांग्रेसका माधवप्रसाद आचार्य र उन्मुक्तिका राजेन्द्रबीर रायले उम्मेदवारी दर्ता गराएका हुन् । सत्ता गठबन्धनका तर्फबाट दसौदीको उम्मेदवारी दर्ता भए पनि उन्मुक्तिले छुट्टै उम्मेदवारी दिएको हो ।

राष्ट्रिय सभा सदस्यका लागि माघ २५ गते उपनिर्वाचन हुँदैछ। नेकपा एमालेबाट राष्ट्रियसभा सदस्यमा निर्वाचित रुपन्देहीका खिमलाल भट्टराईले राजीनामा दिएपछि रिक्त रहेको उक्त सिटमा उपनिर्वाचन हुन लागेको हो ।

राष्ट्रियसभा सदस्यका लागि प्रदेशसभा सदस्य र पालिकाका प्रमुख तथा उपप्रमुखले मतदान गर्ने पाउने व्यवस्था छ । लुम्बिनी प्रदेशमा कुल मतदाता संख्या ३०५ रहेको छ । जसमध्ये प्रदेश सांसदको संख्या ८७ र पालिका प्रमुख तथा उपप्रमुख मतदाताको संख्या २१८ जना रहेको छ ।

प्रतिक्रिया दिनुहोस्