कृषि क्षेत्रको व्यावसायिक बिकास गाउँपालिकाको प्राथमिकतामा : अध्यक्ष राई
सोलुखुम्बु।नेचासल्यान गाउँपालिकाका अध्यक्ष धनजन राइले कृषि नै समृद्धिको मुख्य आधार भएको बताउंदै सीप सहितको आधुनिक कृषि प्रणाली अबलम्बन गर्नु अहिलेको आवश्यकता भएको बताएका छन् ।

‘नेचासल्यान गाउँपालिकाको शान, कृषि उत्पादन अभिबृद्धि हाम्रो अभियान’ भन्ने नाराका साथ शुक्रबार गाउँपालिकाद्वारा आयोजित एकदिने कृषि मेला प्रदर्शनीको उद्घाटन गर्दै अध्यक्ष राईले सो कुरा बताएका हुन्।कृषि क्षेत्रको व्यावसायिक बिकास गाउँपालिकाको प्राथमिकतामा रहेको बताउंदै कृषकका समस्या समाधानका लागि हरेक वडामा कृषि प्राविधिकको ब्यबस्था गरिएको उनले बताए ।
गाउँपालिका आर्थिक समितिका संयोजक सीताराम काफ्लेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गाउँपालिका उपाध्यक्ष विना राईले गाउँपालिकाले कृषिका क्षेत्रमा महत्वपुर्ण योजनाहरु प्रदेश सरकार तथा संघसँगको समन्वयनमा सञ्चालन गरि कृषिको बृहत्तर विकास र आय आर्जनमा गाउँपालिका अघि बढेको बताएकि थिइन।

कार्यक्रमलाई नेपाली कांग्रेस नेचासल्यान गाउँपालिका समितिका सभापति निरकुमार शर्मा ‘जय नेपाल’ नेकपा एमाले नेचासल्यान गाउँपालिका कमिटी अध्यक्ष जगनाथ बास्तोला,नेकपा माओवादी केन्द्र गाउँपालिका कमिटी इन्चार्ज केशर राई र राप्रपा नेता ठगेन्द्र जमरकट्टेलले सम्बोधन गरेका थिए।
हिमाल दर्शन माध्यमिक विद्यालयको प्राङगणमा शुक्रबार नै सम्पन्न भएको मेलामा १२ प्रकारका कृषि तथा खाद्यान्न र उद्यमीका हस्तकलाका सामग्री प्रदर्शन गरिएको थियो।कृषि मेलामा विभिन्न बिधाका ४८ जना कृषक पुरस्कृत भएको गाउँपालिकाले जनाएको छ। गाउँपालिका भित्रका ५ वटै वडाका ५६३ कृषकले सहभागिता जनाएको सो प्रदर्शनी गाउँपालिकाद्वारा आयोजित तेस्रो कृषि मेला प्रदर्शनी हो।

