प्रदेश १ मन्त्रीहरुको तोकियो जिम्मेवारी,राजभण्डारीले पाए सामाजिक बिकास मन्त्रालय
बिराटनगर।प्रदेश १ सरकारको मन्त्री नियुक्त भएका सोलुखुम्बु प्रदेश निर्बाचन क्षेत्र ‘ख’ बाट निर्बाचित सांसद बुद्दिकुमार राजभण्डारीले सामाजिक बिकास मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

संबिधानको धारा १६८ (९) बमोजिम प्रदेश मन्त्रीपरिषद्का सदस्यहरुको कार्यबिभाजन गर्दै मुख्यमन्त्री हिक्मत कुमार कार्कीले राजभण्डारीलाई उक्त मन्त्रालयको जिम्मेवारी दिएका हुन्।शुक्रबारको मन्त्रीपरिषद बैठकले साविकका १३ वटा मन्त्रालय घटाएर ९ वटा कायम गरेसंगैं कार्कीले यसअघि बिना बिभागीय नियुक्त मन्त्रीहरुको कार्यबिभाजनका लागि प्रदेश प्रमुख परशुराम खापुङसमक्ष सिफारिस गरेका हुन्।
कार्यबिभाजन अनुसार प्रधानमन्त्री पुष्पकमल दाहालका ज्वाईं जीवन आचार्यलाई पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी तोकिएको छ। यसैगरी, दुर्गा प्रसाद चापागाईंलाई पूर्वाधार तथा सहरी विकास मन्त्रालय, निर्मला लिम्बूलाई स्वास्थ्य मन्त्रालय, भक्तिप्रसाद सिटौलालाई उद्योग कृषि तथा सहकारी मन्त्रालय,तिलकुमार मेन्याङ्बोलाई खानेपानी सिँचाइ तथा ऊर्जा मन्त्रालयको जिम्मा दिइएको छ।
मुख्यमन्त्री कार्कीले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाहेक आर्थिक मामिला तथा योजना मन्त्रालय र आन्तरिक मामिला तथा कानुन आफैँसँग राखेका छन्।
मुख्यमन्त्री कार्कीले पहिलो चरणमा ३ र दोश्रो चरणमा ३ जना बिना बिभागीय मन्त्री नियुक्त गरेका थिए।

