शैक्षिक गुणस्तर वृद्धिका लागि थुलुङदुधकोशीले गाउँ शिक्षा योजना निर्माण गर्ने
सोलुखुम्बु ।थुलुङदुधकोशी गाउँपालिकाले शैक्षिक गुणस्तर वृद्धिका लागि गाउँ शिक्षा योजना निर्माण गर्ने भएको छ । आज (मंगलबार) शिक्षा समितिका सयोजक तथा गाउँपालिका अध्यक्ष असिम राईको अध्यक्षतामा बसेको बैठकले उक्त योजना निर्माण गर्ने निर्णय गरेको हो ।

शैक्षिक गुणस्तर वृद्धिका लागि दीर्घकालीन योजना आवश्यक भएकाले थप विषय वस्तुको अध्ययन गर्नुपर्ने पालिका अध्यक्ष असिम राईले बताउँनुभयो । अध्ययन पछि प्राप्त प्रतिवेदन अनुसार कार्यतालिका निर्माण गरि कार्यन्वयन गरिने पालिका प्रवक्ता भोजराज कार्कीले जानकारी दिनुभयो । यस्तै स्थानीय पाठ्यक्रम निर्माणको लागि पनि अध्ययन गरिने बताइएको छ । जसको लागि सामाजिक विकास समिति संयोजक बुद्धिराज राईको संयोजकत्वमा एक अध्ययन समिति गठन गरिएको पालिकाले जनाएको छ ।
उक्त समितिले कक्षा थप गर्ने अनुमति,विद्यालय गाभ्ने र शिक्षक दर्वन्दि मिलान लगायतको क्षेत्रमा प्रतिवेदन तयार पार्नेछ । १५ दिन भित्र प्रतिवेदन तयार पारी पालिकामा पेश गर्नको लागि पालिका अध्यक्ष असिम राईले निर्देशन दिनुभएको पनि प्रवक्ता कार्कीले जानकारी दिनुभयो ।

