नर्सिङ स्टाफका लागि थुलुङदुधकोशीमा आयोजित चार दिने अभिमुखीकरण सम्पन्न



सोलुखुम्बु।थुलुङदुधकोशी गाउँपालिकामा चार दिन देखि जारी गर्भवति, सूत्केरी जाँच एवम् आमा तथा नवजात शिशुको हेरचाह सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । थुलुङदुधकोशी गाउँपालिका स्वास्थ्य शाखाको आयोजना तथा नेचासल्यान, सोताङ र महाकुलुङ गाउँपालिका स्वास्थ्य शाखाको समन्वयमा आयोजित उक्त कार्यक्रम सम्पन्न भएको हो ।

अभिमुखीकरण कार्यक्रममा चार गाउँपालिकाको स्वास्थ्य संस्थामा कार्यरत ३६ जना नर्सिङ स्टाफको सहभागिता रहेको थुलुङदुधकोशी गाउँपालिका स्वास्थ्य शाखा संयोजक विशाल बाबु राईले जानकारी दिनुभयो । तालिममा गर्भवती, सूत्केरी आमाको जाँच एवम् आमा तथा नवजात शिशुको हेरचाह सम्बन्धि थप नयाँ नयाँ सीप सिक्न पाएको भन्दै नेचावतासे स्वास्थ्य चौकीमा कार्यरत नर्सिङ स्टाफ लक्ष्मी राईले खुसी व्यक्त गर्नुभयो । तालिममा सिकेको सीपालाई व्यबहारमा प्रयोग गर्न आफुहरु प्रतिवद्ध रहेको समेत उहाँले बताउँनुभयो ।

कार्यक्रमको समापन समारोहलाई संबोधन गर्दै थुलुङदुधकोशी गाउँपालिका अध्यक्ष असिम राईले स्वास्थ्य जस्तो संबेदनशील क्षेत्रमा थप ज्ञान एवम् सीप आवश्यक पर्नेभएकाले कार्यक्रम प्रभावकारी भएको विश्वास व्यक्त गर्नुभयो । स्वास्थ्यकर्मीसंग सीप तथा साधन हुँदा मानिसको अकालमा हुने मृत्युदर कम हुने भन्दै सोही अनुसार कार्य गर्न सबैलाई निर्देशन समेत दिनुभयो ।

अभिमुखीकरण कार्यक्रममा कोशी अस्पताल विराटनगरका अस्पताल नसिंङ निरीक्षक लजिता योन्जन, लक्ष्मी श्रेष्ठ र ममता श्रेष्ठले सहजीकरण गर्नुभएको पालिका प्रबक्ता भोजराज कार्कीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्