ज्वाइँ मन्त्री बनाउने निर्णय तत्काल सच्याउन अध्यक्ष प्रचण्डलाई दबाब
काठमाडौं।सिनियर नेताहरुलाई पाखा लगाउँदै ज्वाईं जीवन आचार्य मन्त्री बनाउने निर्णय तत्काल सच्याउन सहिद तथा बेपत्ता योद्धा सन्तती फाउण्डेसन’ले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई आग्रह गरेको छ।
आचार्य प्रदेश नं. १ सरकारको मन्त्रिमण्डलमा माओवादी केन्द्रका नेता जीवन आचार्यलाई विना विभागीय मन्त्री नियुक्त गरिएकोमा गम्भीर आपत्ती जनाउदै फाउन्डेसनले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दहाल (प्रचण्ड) का ज्वाँई आचार्यलाई मन्त्री नियुक्त गरिनुले नेतृत्वप्रतिको जनविश्वास घटाउने तथा पद र शक्तिको लागि निर्लज्ज निर्णय गर्ने बिकृत अभ्यासलाई प्रेरित गरेको ठहर गरेको छ।
आचार्यलाई मन्त्री नियुक्त गर्दा जनभावना र अहिलेको वस्तुगत आवश्यकतालाई ख्याल नगरेको भन्दै फाउन्डेसनले जातीय, क्षेत्रीय, वर्गीय तथा योगदान एवम् लाल र निपूण, सबै हिसावले आचार्यभन्दा धेरै योग्य अन्य सांसदलाई पाखा लगाइएको आरोप लगाइएको छ।
‘यो माओवादी संस्कृती हैन। औपचारिक तर्क गरेर यसको दोष अरू कसैलाई दिन सकिएला तर त्यसो गर्नु सर्वथा गलत हुन्छ, औपचारिकता र अमूर्तताको बहसले सुद्धिकरण र रुपान्तरण सम्भव छैन। व्यवहारतः यसको सम्पूर्ण जिम्मेवारी कमरेड प्रचण्डलाई जान्छ र उहाँले नै लिनु पर्छ’, विज्ञप्तिमा भनिएको छ, ‘निःसन्देह माओवादी आन्दोलनमा नेतृत्वको योगदान उल्लेख्य रहेको छ तर यो आन्दोलन र परिवर्तनको लागि हजारौं सपूतहरूको बलिदान र लाखौंको समर्पण विना नेतृत्वको योगदान सम्भव थिएन। इतिहास बदल्न बलिदान दिने तिनै सपूतहरुका सन्तती हुनुको नाताले यो फाउण्डेशन र यसका सदस्यहरुले पनि आवश्यक पर्दा इतिहाँसको रक्षार्थ बगेको रगत जस्तै प्रष्ट देखिने र छुइने भाषामा बोल्नुपर्छ। यस्तै हुने हो भने हामीले भन्नै पर्ने हुन्छ – लोभी आँखाहरुबाट त्यागी इतिहासको रक्षा हुन सक्दैन।