पुस २७ गते राप्रपाले ७७ वटै जिल्लामा कार्यक्रम गरेर पृथ्वी जयन्ती मनाउने



काठमाडौं।पृथ्वी जयन्तीका दिन सार्वजनिक बिदा दिन सरकारसँग माग गर्दै आएको राप्रपाले पुष २७ गते देशैभर कार्यक्रम गर्ने भएको छ।

अध्यक्ष राजेन्द्र लिङ्देनको उपस्थितिमा पृथ्वी जयन्ती मनाउन गठित तयारी समितिको आज बसेको बैठकले देशका ७७ जिल्लामै विविध कार्यक्रम गरेर पृथ्वी जयन्ती मनाउने निर्णय गरेको राप्रपाले जनाएको छ ।

बैठकले काठमाडौंमा भृकुटीमण्डपमा भेला भई सिंहदरबार अगाडिको पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गर्ने र दिउँसो भृकुटीमण्डप परिसरमा चियापान समारोहको आयोजना गर्ने निर्णय गरेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए।

पृथ्वी जयन्ती समारोहका लागि राप्रपाले अध्यक्ष लिङ्देनको संयोजकत्वमा एक हजार एक सय ११ सदस्यीय मुल समिति र विभिन्न ११ उपसमिति गठन गरेको छ।

नेपाली पहिचान दिने पृथ्वीनारायण शाहको सम्मानमा राज्यको तर्फबाट कुनै कमी हुन नहुने भन्दै राप्रपाले हरेक वर्ष पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसलाई उत्सवको रुपमा मनाउँदै आएको छ।

प्रतिक्रिया दिनुहोस्