नेचासल्यानको हिमाल दर्शनमा पाँचदिने बालबिकास तथा आधारभूत तह शिक्षक तालिम सुरु
खगिन्द्रराज बास्तोला,सोलुखुम्बु।रीड नेपालको आयोजना तथा नेचासल्यान गाउँपालिकाको समन्वय तथा सहकार्यमा ५ दिने प्रारम्भिक बाल विकास तथा आधारभूत तह अंग्रेजी, गणित, विज्ञान प्रविधि र सामाजिक विषयको शिक्षक तालिम आजबाट हिमाल दर्शन मावि नेचामा सुरु भएको छ ।

रीड नेपालका शिक्षा विकास संयोजक केशवदेव गिरीको अध्यक्षता तथा गाउँपालिका अध्यक्ष धनजन राईको प्रमुख आतिथ्यता र पालिका उपाध्यक्ष बिना राईको विशेष अतिथ्यतामा कार्यक्रमको उद्घाटन गाउँपालिका अध्यक्ष राईले गर्नुभयो ।
नेचासल्यान गाउँपालिकाका विभिन्न विद्यालयका १९ प्रारम्भिक बाल विकास शिक्षक तथा ६२ जना आधारभूत तह शिक्षण गर्ने विषयगत शिक्षक र ४ जना स्थानीय स्रोत शिक्षकहरु गरेर जम्मा ८५ जना शिक्षकहरुको उपस्थिति रहेको छ ।
तालिमको सहजीकरण रीड नेपालका प्रशिक्षकहरुबाट गरिने छ जसमा अंग्रेजी मुक्ति घिमिरे ,गणित सरद गौतम , विज्ञान राजीव ढुंगाना, सामाजिक विष्णु प्रसाद उपाध्याय र ECED मा सुजाता राईले सहजीकरण गर्ने छन् ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि राईले तालिमले शैक्षिक सुधारमा टेवा पुग्ने विश्वास व्यक्त गर्दै सक्रिय भएर तालिममा सहभागी हुन अनुरोध गर्नु भयो। त्यस्तै उपाध्यक्ष बिना राईले तालिममा सिकेका कुरालाई विद्यालयसम्म पुर्याउन आग्रह गर्नु भयो ।
सामुदायिक विद्यालयमा अंग्रेजी गणित विज्ञान विषयको सिकाइ उपलब्धी कम हुने र गाह्रो विषयका रुपमा लिने गरेकोले पछिल्लो परिवर्तित पाठ्यक्रमलाई आधार मानेर प्रविधिसंग जोड्दै तालिम संचालन गरेर विद्यार्थीको सिकाइ उपलब्धी वृद्धि गर्ने उद्देश्यले तालिमको आयोजना गरेको शिक्षा विकास संयोजक केशवदेव गिरीले बताउनु भयो ! साथै विद्यालयको शैक्षिक गुणस्तर बढाउन विद्यालयको जगको रुपमा रहेको प्रारम्भिक बाल विकास कक्षा महत्त्वपूर्ण रहेकोले प्रारम्भिक बाल विकास शिक्षक तालिमलाई पनि समेटिएको गिरीको भनाइ छ ।
यस अघि रीड नेपालले सोलु दुधकुण्ड , माप्या दुधकोशी, थुलुङ दुधकोशीमा यही प्रकृतिको तालिम संचालन गरिसकेको छ ,सोताङ,महाकुलुङ र लिखुपिके पालिकामा पनि तालिम कार्यक्रम संचालन हुने रीड नेपालले जनाएको छ ।

