उदयपुरमा परराष्ट्रमन्त्री खड्का र पांचथरमा एमालेका नेम्बाङ बिजयी
काठमाडौं।उदयपुर–१ मा नेपाली कांग्रेसका डा. नारायण खड्का विजयी हुनुभएको छ । उहाँले प्रतिस्पर्धी नेकपा एमालेकी मञ्जू चौधरीलाई २ हजार ३७९ मतान्तरले हराउनुभयो।परराष्ट्र मन्त्रीसमेत रहनुभएका खड्काले ३१ हजार २७० र चौधरीले २८ हजार ८९१ मत प्राप्त गर्नुभएको छ ।

उता,पाँचथरबाट प्रतिनिधि सभा सदस्यमा नेकपा एमालेका उम्मेदवार बसन्तकुमार नेम्वाङ निर्वाचित भएका छन्।
प्रत्यक्षतर्फका केही मतपत्र समानुपातिक मतपेटिकामा फेला परेपछि यहाँ निर्वाचन आयोगले कसैलाई पनि निर्वाचित भएको घोषणा गरेको थिएन।समानुपातिकतर्फका मत गणना सकेपछि मंगलबार बेलुकी एमालेका बसन्तलाई मुख्य निर्वाचन अधिकृत कार्यालयले विजयी भएको प्रमाणपत्र दिएको छ।
चार दिनअघि प्रत्यक्षतर्फको मतपेटिकाका मत गणना गर्दा नेम्वाङ नेपाली कांग्रेसका उम्मेदवार भीष्मराज आङदेम्बेभन्दा ४७ मतान्तरले अघि थिए।तर समानुपातिक मतपेटिकामा पनि भेटिएका मतहरू गणना गर्दा नेम्वाङ ४६ मतान्तरले विजयी भएका छन्।नेम्वाङले ३२ हजार १ सय ३५ मत ल्याए भने भीष्मराजले ३२ हजार ८९ मतमात्रै ल्याएका छन्।
यहाँ राप्रपाका उम्मेदवार कमलबहादुर चेम्जोङले १ हजार २ सय ७४ मत ल्याए भने संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका जसबहादुर योङहाङले एक हजार ११ मत ल्याएका छन्।

