केसीले कार्यकर्तालाई भन्दा बढी बिश्वास माओवादीलाई गर्दा कांग्रेसले पराजय भोग्नुपर्‍यो : शेर्पा



सोलुखुम्बु।नेपाली कांग्रेस सोलुखुम्बुका सभापति नाम्गेलजाङ्बु शेर्पाले प्रतिनिधिसभा सदस्यका उम्मेदवार बलबहादुर केसीले पार्टी संगठन परिचालनलाई वेवास्ता गरी पुरै माओवादी केन्द्रको भर पर्दा सोलुखुम्बुमा नेपाली कांग्रेसले पराजय ब्यहोर्नुपरेको आरोप लगाएका छन्।

जिल्लाको संस्थापन पक्षको असहयोगका कारण मंसिर ४ गते सम्पन्न प्रदेश तथा प्रतिनिधिसभा निर्बाचनमा पराजय ब्यहोर्नुपरेको भन्दै प्रतिनिधिसभा सदस्यका उम्मेदवार केसी पक्षीय कतिपय कार्यकर्ताले सामाजिक सञ्जालमार्फत जिल्ला सभापति शेर्पाको राजीनामा माग गरिरहेका बेला उनले निर्बाचनमा पार्टीको तर्फबाट कुनै कमजोरी र असहयोग नभएको भन्दै सो आरोप लगाएका हुन्।जिल्लाबाट प्रशारण हुने हिमाल एफएममा पत्रकार भानुभक्त निरौलासंग कुरा गर्दै सोलुदुधकुण्ड नगरपालिकाका मेयरसमेत रहेका शेर्पाले तल्लो तहसम्मको पार्टी संगठनलाई परिचालन गर्न निर्बाचन परिचालन समिति गठन गर्नुपर्ने प्रस्ताव कार्तिक १६ गते बसेको जिल्ला कार्यसमितिको बैठकमा आफुले राखेपनि केसीले त्यसलाई अस्वीकार गरेको खुलासा समेत गरेका छन्।बैठकमा मैंले निर्बाचन परिचालन समिति र निर्बाचन प्रचारप्रसार समिति गठन गर्नुपर्छ भन्ने प्रस्ताव राखें,तर त्यसलाई ठाडै अस्वीकार गर्दै गठबन्धनमा रहेको माओवादी केन्द्र रिसाउंछ मलाई गठबन्धनका उम्मेदवारलाई जिताउन परिचालित हुन निर्देशनमात्रै दिए पुग्छ भनेर वहाँले ( केसी) ले भनेपछि भोलि पल्ट नै मैंले त्यसै अनुसारको सर्कुलर तल्लो तहसम्म जारी गरेको छु,शेर्पाको प्रश्न छ- ‘वहाँकै चाहना अनुसार पार्टी अगाडी बढ्नु असहयोग हो र ?’

गठबन्धनका उम्मेदवारहरुलाई असहयोग गर्ने काम पार्टीका कुनै जिम्मेवार नेता कार्यकर्ताहरुले नगरेको स्पष्ट गर्दै उनले बरु माओवादी केन्द्रको भोट नेपाली कांग्रेसमा ट्रान्सर्फमर हुन नसकेको दावी गरे।औपचारिक रूपमा अहिले नेपाली कांग्रेस र माओवादी केन्द्रको गठबन्धन भएपनि जिल्लामा ०७४ सालकै गठबन्धन कायम रह्यो।यो कुरा त निर्बाचनपछि भएको समीक्षा बैठकमा केसीले नै स्वीकार गर्नुभएको छ,शेर्पाले भने।हामीले गठबन्धनका उम्मेदवारलाई निर्बाचित गराउन सबै परिचालित हुने संस्थागत निर्णय नै गरेर अगाडी बढ्यौं तर माओवादी केन्द्रले जिल्ला समन्वय समितिको बैठक समेत राख्न सकेन शेर्पाले भने-‘तर हाम्रो उम्मेदवार पार्टी संगठन र कार्यकर्तालाई भन्दा उसैलाई बिश्वास गरेर अगाडी बढ्नु भो पहिलो सबै भन्दा ठुलो कमजोरी यही नै हो।’दोश्रो वहाँले लामो समय संगठन निर्माणमा योगदान गर्ने पार्टी कार्यकर्ताहरुहरुलाई बाहिर राखेर मतदाताको पुग्दा श्रीमती,भाई र भतिजाहरुलाई अघि लगाउनुभयो।

तेश्रो, जिल्लामा पार्टी संगठनको तल्लो तहसम्मको रिपोर्टिङका आधारमा जिल्ला कार्यसमितिको बैठकले गरेको उम्मेदवार सिफारिसलाई केन्द्रले लत्याउँदा पनि यस्तो दु:खद परिणाम आएको उनको भनाई छ।पार्टीमा पुष्तान्तरणको कुरा छ,मतदाताले परिवर्तन खोजेका छन्,वहाँको अलोकप्रीयता बढेको छ भन्ने तल्लो तहको रिपोर्टिङका आधारमा हामीले केन्द्रीय सदस्य केसीलाई समानुपातिक उम्मेदवारका रूपमा सिफारिस गरेर पठाएका हौं ।तर केन्द्रबाट यसको सुनुवाइ नगरी ०४८ सालदेखि निरन्तर ७ पटकसम्म एउटै ब्यक्तिलाई उम्मेदवार बनाएपछि परिवर्तन खोजिरहेका मतदाताहरुमा असन्तुष्टीका कारण पनि आशातित उपलब्धि हाँसिल गर्न नसकिएको र कांग्रेसकै कतिपय मतदाता समेत निर्बाचनमा सहभागी नहुँदा पार्टीले आफ्नै मत समेत गुमाउनु परेको शेर्पाको भनाई छ।

जिल्लाबाट निर्बाचित भएर पटक पटकपटक सत्तामा पुग्दा पनि जिल्लाको बिकास र समृद्धिका काममा केसीले बेवास्ता गर्दा त्यसको मार समेत पार्टीले ब्यहोर्नुपरेको भन्दै शेर्पाले आरोप-प्रत्यारोप भन्दा पनि निर्बाचनमा यस्तो परिणाम आउनुको कारणबारे निर्मम समिक्षा हुनु आवश्यक रहेको बताए ।

आचारसंहिताले रोक्दा रोक्दै पनि कतिपय कार्यक्रममा सहभागी भएर गठबन्धनका उम्मेदवारको पक्षमा म आफैंले सार्बजनिक अभिव्यक्ति दिएको छु,पार्टीका जिम्मेवार नेता कार्यकर्ताहरु पनि त्यसैगरी लागेका छन्।तर उम्मेदवार केसी निकट रहेका केहि उच्छृङ्खल ब्यक्ति हामीलाई दोषारोपण गरेर सामाजिक सञ्जालमा तथानाम गरिरहेका छन्,त्यो आफ्नो कमजोरी लुकाउने प्रयास मात्रै हो,-शेर्पाले भने।

प्रतिक्रिया दिनुहोस्