खनाल र कार्कीलाई पराजय स्वीकार गर्न सकस!



काठमाडौं।सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ मा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीका प्रतिनिधिले मत गणना स्थगित गराएका छन् ।

शुक्रबार राति निर्वाचन कार्यालयले एमालेको पक्षमा ६ सय ६ मत इन्ट्री गरिदिएको दाबी गर्दै कांग्रेसका प्रतिनिधिले मत गणना रोकेका हुन् ।उनीहरुले शनिबार दिउँसो २ बजेदेखि मत गणना रोक्दै निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिएका छन् ।मतगणनाको विषयमा अहिले सर्वदलीय बैठक बसिरहेको छ ।

इलाम-२ मा हस्ताक्षर नभएका मतपत्र भेटिएको भन्दै नेपाली कांग्रेसका कार्यकर्ताले विरोध प्रदर्शन गरेका छन्।उनीहरूले शनिबार साँझ मतगणना रोक्न माग गर्दै नाराबाजी गर्दै प्रदर्शन गरेका हुन्।

नेपाली कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्का पराजित हुन सक्ने सम्भावना देखेपछि मतगणना स्थगित गर्ने प्रयास गरेको मुख्य निर्वाचन अधिकृत दीपककुमार दाहालले जानकारी दिए। उनका अनुसार मतगणना स्थगित भएको छैन।

यहाँ नेकपा एमालेका उम्मेदवार सुवास नेम्वाङ अगाडि छन्। १५० मतले उनले अग्रता लिएका छन्। नेम्वाङले २९ हजार १३५ मत पाउँदा उनका निकटतम् प्रतिस्पर्धी खड्काले २९ हजार ५ मत पाएका छन्।उक्त क्षेत्रमा अन्दाजी एक हजार मत गन्न बाँकी छ।

त्यस्तै, इलाम क्षेत्र नम्बर १ मा पनि मतगणनाको सुरुदेखि नै पछाडि रहेका पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले एकलौटी रुपमा मतगणना गरिएको आरोप लगाउँदै पुन: मतदानको माग गरेका छन् ।

कर्मचारीतन्‍त्रका कारण मतगणना एकलौटी भएको आरोप लगाउँदै खनालले पुनः चुनावको माग गरेका छन् । विगतदेखि यस क्षेत्रबाट सांसद जित्दै आएका खनाल यो पटक मत गणनाको सुरुदेखि नै पछाडि छन् ।

पछिल्लो मत परिणाम अनुसार उनी एमालेका महेश बस्नेतभन्दा २४ सय ५५ मतले पछाडि परेका छन् । बस्नेतले १८ हजार ५४२ मत ल्याउँदा खनालले १६ हजार ८७ मत प्राप्त गरेका छन् । नेकपा एसका सम्मानित नेता समेत रहेका पूर्वप्रधानमन्त्री खनाल सत्ता गठबन्धनकातर्फबाट उठेका हुन् ।

प्रतिक्रिया दिनुहोस्