चितवन-३ मा राप्रपा नेता पाण्डेले मारे बाजी



भरतपुर।चितवनको ३ नम्बर निर्वाचन क्षेत्रबाट प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष विक्रम पाण्डे विजयी भएका छन् ।

शुक्रवार राति सम्पन्न मतगणनामा पाण्डे ९ हजार २३३ मतान्तरका साथ विजयी भएका छन् । पाण्डेले ३५ हजार ५५ मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी लोकतान्त्रिक वाम गठबन्धनबाट उम्मेदवार बनेका नेकपा माओवादी केन्द्रका उम्मेदवार डा. भोजराज अधिकारीले २५ हजार ८२२ मत प्राप्त गरे ।

राष्ट्रिय स्वतन्त्र पार्टीकी जीता बरालले १४ हजार ८४२ मत प्राप्त गरिन् । स्वतन्त्र उम्मेदवार दिनेश कोइरालाले १२ हजार २७५ मत प्राप्त गरेका निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यस क्षेत्रमा ९४ हजार २८० मत खसेको थियो ।

चितवनको प्रदेशसभा क्षेत्र ३(२) मा नेकपा माओवादीका ठाकुर ढकाल विजयी भएका छन् । उनी १५ हजार ४६१ मतका साथ विजयी भएका छन् भने उनका प्रतिस्पर्धी राप्रपाकी रीना गुरुङले १४ हजार ६१५ मत प्राप्त गरेका छन् । नेकपा एमालेकी सरस्वती विष्टले १० हजार १२४ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
प्रदेश अन्तर्गतको क्षेत्रमा ४४ हजार ६८ मत खसेको थियो ।

प्रतिक्रिया दिनुहोस्