आफुमाथि गैरकानुनी धरपकड गरिएको डेमोक्रेट युनियनका अध्यक्ष गौतमको आरोप
काठमाडौं।नेपाल डेमोक्रेट युनियनका प्रेसिडेन्ट सिद्धार्थ गौतमले चीनको राष्ट्रिय जनकांग्रेसका स्थायी समितिका अध्यक्ष ली चानसुन नेपाल भ्रमणमा आएका बेला आफूमाथि गैरकानुनी धरपकड गरिएको भन्दै आपत्ति जनाएका छन्।

काठमाडौंको महाराजगन्ज सडक किनारामा मर्निङवाक गरिरहेका बेला सेप्टेम्बर १२ मा पक्राउ गरी आफुलाई ४ दिनसम्म गैह्रकानूनी थुनामा राखेको एक बिज्ञप्तिमार्फत उनले जनाएका छन्।गौतमद्वारा हालै जारी बिज्ञप्तिमा थुनालाई बैध बनाउन अभद्र ब्यवहारको झुठ्ठा मुद्दाको सहारा लिई छोडिएको र हालसम्म पनि सरकारका सिभिल प्रहरीले पछ्याईरहेको आरोप लगाईएको छ।
बिज्ञप्तिमा उनले भनेका छन्,- विदेशीको भ्रमणको वहानामा एक लोकतन्त्रवादी नेपाली नागरिकको मानवअधिकार, कानूनी अधिकार तथा संवैधानिक अधिकार माथि बन्देज लगाई गैह्रकानूनी थुनामा राखिएको कार्यले म पीडित माथि घोर अन्याय भएको र त्रासदीपूर्ण वातावरणमा जीवन जिउनुपर्ने अवस्थाको श्रृजना हुनुले नेपाल ब्यक्तिपूजक भएको र कानूनी शासन भएको देश बन्न नसकेको प्रमाणित गर्दछ ।
नेपालमा आफ्नो बर्चस्व कायम गर्न नेपाली नागरिकलाइ नै विरोधको आवाज नउठाओस भन्ने उद्देश्यले विदेशीको ईशारा र विदेशीको हण्डी खाएको भरमा गरिने यस प्रकारको ज्यादती पूर्ण कार्यले नेपाल स्वतन्त्र देश नभई विदेशीको ईशारा र दवावमा परिचालित हुन्छ भनी विश्व सामु उदांगो हुने काम राष्ट्रको सार्वभौमिकता, स्वतन्त्रताका लागि खतराजन्य छ ।
कुनैपनि मुलुकको प्रतिनिधिको भ्रमणमा नागरिकको सहमती असहमती, अभिव्यक्ति हुनु, आउनु स्वभाविक हो । संबैधानिक हकको प्रयोगमाथि अन्य लोकतान्त्रिक मुलुकको प्रतिनिधि आउँदा बन्देज लगाउन नपर्ने तर चिनियाँ कम्युनिष्ट प्रतिनिधि, राष्ट्र प्रमुख आउँदा देशका मानवअधिकार र लोकतन्त्रका पक्षधरलाई नजरबन्देज लगाउने, थुनामा राख्ने जस्ता कार्यले यो देशको गृह प्रशासन चिनियाँ कम्युनिष्टहरुको इच्छामा परिचालित छ भन्ने स्पष्ट छ । अव आईन्दा यस्तो कार्य नहोस भनी कडा अपिल गर्दछु ।

