भदौ ५ गतेभित्र प्रमाणसहित मिटरब्याजी बिरुद्ध उजुरी दिन पीडितहरुलाई गृहको आग्रह
काठमाडौं। गृह मन्त्रालयले मिटरब्याजबाट पीडित भएकाहरुलाई मिटरब्याजीविरुद्ध भदौ ५ गतेभित्र उजुरी दिन अनुरोध गरेको छ।

आज (शनिबार) एक सूचना जारी गरेर मन्त्रालयले देशैभर मिटरब्याजीको जालो फैलिएको हुन सक्ने भन्दै मिटरब्याजीले गरेका अपराध र शोषणविरुद्ध प्रमाणसहित उजुरी दर्ता गर्न अनुरोध गरिएको हो।
उजुरी सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा गएर दिन सक्ने मन्त्रालयले सूचनामा उल्लेख छ। आर्थिक हिसाबले विपन्न वर्गका व्यक्तिमाथि गरिएको शोषणको शृंखलाले सयौं परिवारको बिचल्ली भएको मन्त्रालयको भनाइ छ।
माइतीघर मण्डलामा नवलपरासीका मिटरब्याजी पीडितहरुले आन्दोलन थालेपछि सरकारको त्यसतर्फ ध्यानाकर्षण भएको थियो। सरकारले त्यसबारे छानबिन गर्न कार्यदलसमेत गठन गरेको थियो।
सोही कार्यदलका संयोजक भीष्मकुमार भुसालले जारी गरेको सूचनामा भनिएको छ, ‘देशैभरी मिटर ब्याजको जालो फैलिएको हुन सक्ने अवस्थालाई मध्यनजर गरी मिटर ब्याज पीडित व्यक्तिहरूबाट त्यस मिटर ब्याजीले गरेका अपराध र शोषण विरुद्ध आआफ्नो जिल्लास्थित जिल्ला प्रशासन कार्यालयमा मिति २०७९/०५/०५ भित्र यथासम्भव बढी तथ्य प्रमाणसहित उजुरी दर्ता गर्नुहुन यो सार्वजनिक सूचना जारी गरिएको छ।’

