यस्ता छन् कांग्रेस केन्द्रीय कार्य सम्पादन समिति बैठकका निर्णय
काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसको आगामी प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचन केन्द्रित राष्ट्रव्यापी अभियान भदौ १० गतेदेखि सञ्चालन गर्ने भएको छ। शनिबार बिहान बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले यस अगाडि भदौ २ गतेदेखि तय गरेको अभियान १० गतेदेखि २४ गतेसम्म सञ्चालन गर्ने निर्णय गरेको हो।

बैठकले मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली र समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचनमा पार्टीका उम्मेदवारलाई उम्मेदवार मनोनयनको औपचारिक पत्र प्रदान गर्नका लागि सभापति शेरबहादुर देउवालाई जिम्मेवारी प्रदान गर्ने निर्णय गरेको सहमहामन्त्री भिष्मराज आम्दाम्बेले जानकारी दिए।
बैठकले निर्वाचनमा भाग लिनका लागि नेपाली कांग्रेस पार्टीलाई निर्वाचन आयोगमा दर्ता गर्ने निर्णय गरेको छ। उनका अनुसार निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगमा दल दर्ता गर्न कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेललाई जिम्मेवारी प्रदान गर्ने निर्णय गरेको छ।
बैठकले प्रत्यक्ष र समानुपातिक तर्फको उम्मेदवारीका लागि पार्टी विधानअनुसार उम्मेदवारको नाम प्रस्ताव र सिफारिश गर्न केन्द्रीय कार्यालयमार्फत निर्देशन दिने निर्णय गरेको छ।

