देशव्यापी १००औं फोटोमा मुक्तक प्रतियोगितामा सान्त्वना पुरस्कार(रु ११,१११/-)प्राप्त मुक्तक !



मुक्तक १

तिम्रो चोटमा मलाई दर्द किन हुन्छ साथी
सुम्सम्याउँदै घाउ यो मन किन रुन्छ साथी
नयनमा तिमी छौ मन र वचनमा तिमी
त्यो मनको झंकार यो मन किन सुन्छ साथी

मुक्तक २

आफ्नै भएपनि पराई भन्छ मान्छे सहरमा
आफू जून अरुलाई धुलो गन्छ मान्छे सहरमा
मेलापात गाउँबेसी बिर्सिएर दौतरीहरू पनि
खै कसरी हो पत्थर बन्छ मान्छे सहरमा

मुक्तक ३

टाढा भएपछि बल्ल थाह हुन्छ मान आमाको
परदेशबाटै जोगाउने चाह हुन्छ सान आमाको
आमाकै काखमा निदाउने भाग्यमानीलाई के थाहा
एकैझल्को देख्दा वाह हुन्छ वरदान आमाको

मुक्तक ४

बलात्कारी र भ्रष्टाचारी फरार हुने मेरो देश
जे जे गर ठूलालाई कानुनले नछुने मेरो देश
जति अन्याय परे पनि सहँदै छन् निर्मलाहरू
कठैबरा!कुर्सी छोडदै गर्दा मन्त्री रुने मेरो देश

*********
पुष्पा नेपाल (सुवेदी )
इलाम

प्रतिक्रिया दिनुहोस्