कविता : प्रेरणाको स्मारक



बाबुराम न्यौपाने “उत्स”/दमक, झापा

दुर्गम खोँचमा हराएका
गरीब
घाँसीको प्रेरणामा खनिएको
कुवाको डोबडोबमा
नेपाली भाषाको
अमर स्मारक उभियो।

नेपाली भाषा साहित्य
संकिर्णताको
बाक्लो तुवाँलो पन्छाएर
शनै: शनै:, पर पर….
दूर क्षितिजसम्म फैलियो।

स्मारकका भित्ताभित्तामा
नेपाली भाषाको
जीवन्त इतिहास कुँदियो
रामायणका श्लोकको
सुमधुर भाका
सँगसँगै
नयाँ युगको आहट बुझेर
गाउँ ब्यूँझियो-शहर ब्यूँझियो।

भव्य स्मारकको उज्यालोमा
नेपाली भाषा जग्मगायो
माटोका कणकणमा
घुलेर
भाषिक एकता
नेपालीको मनमुटु जोड्ने
वरदान बनेर छायो।

विराट विश्वआँगनमा
युगयुग
नेपाली भाषा साहित्य
फगत एक्लै
सगर्व
उभिनसक्ने बन्यो।

घाँसीको सानो कुवामा
छचल्किएको पानी
महासागरमा मिसिएर
सिर्जनाको
ज्वारभाटा उठाइरहेको छ।

भाषिक एकताका सुत्रधार
राष्ट्रिय विभूति
भानुभक्तप्रति
अन्तर हृदयको श्रद्धासुमन।
⭕️

प्रतिक्रिया दिनुहोस्