एमालेपछि राप्रपाले पनि गर्यो नीति तथा कार्यक्रम पुनर्लेखनको माग
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले अहिलेको नीति कार्यक्रम सामान्य परिस्थितिमा आउनेजस्तो मात्र भएको बताउँदै यसलाई पुनर्लेखन गर्नुपर्ने बताएका छन्।

सोमबारको प्रतिनिधिसभा बैठकमा आर्थिक वर्ष ०८०/०८१ को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफलमा बोल्दै उनले सरकारले शुक्रबार ल्याएको नीति कार्यक्रमले अहिले देशको आर्थिक अवस्थालाई सम्बोधन गर्न नसक्ने जिकिर गरे।
“यो ठिकठाक वा सामान्य अवस्थामा ल्याउने जस्तो मात्र छ । यसले समस्या पहिचान गरेन, प्राथामिकता छुट्याउने कोसिस गरेन । छलफल गर्नुपर्ने विषय प्रशस्त छ,” उनले भने, “बहुत छ, तालि ठोकेर पास गर्छु भन्ने छ । आत्मरतिमा रमाउनुहोस् । जनयुद्ध दिवस घुसाइयो, देउवाजीलाई पनि त्यसको भारी बोकाइयो भनेर । याद गर्नुहोस्, देश तपाईं सरकारमा बस्नेहरूको मात्र हैन । देश बिग्रे सबैको बिग्रन्छ, हाम्रो पनि बिग्रन्छ । त्यसकारण जति आत्मरतिमा रमाए पनि यसलाई पुनर्लेखन गर्न जरूरी छ ।”
प्रतिनिधिसभा बैठकमा नीति तथा कार्यक्रममाथि टिप्पणी गर्दै आईतवार नेकपा एमालेका अध्यक्ष केपी ओलीले पनि यसलाई पुनर्लेखन गर्नुको विकल्प नरहेको बताएका थिए। foto file

