कविता – ढोङ्गी विज्ञहरू




उच्च ओहोदाका वरिष्ठ
भलाद्मी भनिएका मानिसहरू भेट्छु
भलाद्मी विज्ञका सामु
आफुलाई भुसुना सम्झन्छु
तिनको सम्मानमा
म विनम्रतापूर्वक
दर्शन नमन नमस्कार टक्र्याउँछु
शिर निहुर्‍याउंछु।

तर विडम्बना !
उनी ओहोदाका दम्भ देखाउँंछन् र
जवाफमा मेरा शिर देखि पाउसम्म
नियाल्छन
र ‘यस’मात्र भन्छन्
ठिङ्ग औंला ठड्याउँछन्
विज्ञ तुच्छ पनमा कति अहम् र मपाइ
म गम्भीर सोचमा पर्छु ।

लाग्छ स्वयं आफ्नै उचाई
मापन गरिरहेछन्
अहङ्कारले
उनको उचाइको सीमा
धर्तीको उच्चतम बिन्दुमा पुगेको छ
र सायद उनलाई स्वयं
त्यसको आभाससम्म छैन
उनीहरू कति निरीह र दयनीय छन् ।
-दुर्गाकिरण तिवारी
पोखरा-३२ कास्की(हाल,काठमाडौ)

प्रतिक्रिया दिनुहोस्