चर्को मूल्यवृद्धि विरुद्ध सडकदेखि सदनसम्म आन्दोलन चर्काउने एमालेका जनसंगठनहरुको निर्णय



काठमाडौं।नेकपा (एमाले) जनसंगठन समन्वय संयन्त्रको बैठकले पेट्रोलियम पदार्थ, खाद्यवस्तु लगायतमा भएको चर्को मूल्यवृद्धि विरुद्ध आन्दोलनमा उत्रने निर्णय गरेको छ । बिहीबार पार्टी कार्यालय च्यासलमा बसेको संयन्त्रको बैठकले आन्दोलनलाई सडकदेखि सदनसम्म उठाउने निर्णय गरेको संयन्त्रका संयोजक तथा पार्टी स्थायी कमिटीका सदस्य भानुभक्त ढकालले बताए ।

पेट्रोलियम, खाद्यपदार्थ लगायतमा मूल्यवृद्धि, पाठ्यपुस्तकको अभाव, धान रोपाइँको समयमा मलखादको अभाव जस्ता विषयमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन, युवा संघ, नेपाल लगायत आन्दोलनमा छन् । जारी आन्दोलनलाई ऐक्यबद्धता जनाउँदै पार्टीका सबै २२ वटै संगठनहरू सडक आन्दोलनमा उत्रने भएका हुन् ।
‘वर्तमान सरकार अत्यन्तै गैर जिम्मेवार बन्यो, मूल्यवृद्धिले सीमा नाघ्यो, जनताको समस्याप्रति विल्कुलै वास्ता गरेन, यो सरकारले जनतामाथि महङ्गीको मार थपिरहने प्रष्टै भएपछि आन्दोलनको विकल्प रहेन,’ संयन्त्रका संयोजक तथा स्थायी कमिटी सदस्य ढकालले भने ।
यसैबीच जनवर्गीय संगठनमा काम गर्ने नेता कार्यकर्तालाई प्रशिक्षण दिने तयारीका साथ पार्टीको केन्द्रीय स्कुल विभागले पाठ्यक्रमको नयाँ मस्यौदा तयार गरेको छ ।

प्रतिक्रिया दिनुहोस्