कार्यक्रमलगत्तै स्टार यूथ क्लबले गर्‍यो सरसफाई



आफ्नो स्थापना दिवसको अवसरमा भलिबल प्रतियोगीता तथा सांगीतिक साँझ सम्पन्न गरेको स्टार यूथ क्लबले कार्यक्रमस्थलमा सरसफाई गरेको छ । मंसिर ५ गतेदेखि सुरु भएको कार्यक्रम ९ गते सम्पन्न भएको थियो ।

उक्त कार्यक्रम सम्पन्न भएलगत्तै कार्यक्रमस्थल जिल्ला समन्वय समिति र नेपाल टेलिकमको प्राङ्गणमा जम्मा भएको फोहोर सफाई गरि व्यवस्थापन गरेको छ ।
‘कार्यक्रम आयोजना गरिसकेपश्चात आयोजकले सरसफाई नगर्ने हो भने कार्यक्रमस्थल फोहोरै रहिरहन्छ’ सफाई गर्ने क्रममा भेटिएका क्लबका अध्यक्ष नाम्गेल शेर्पाले भने, ‘हामीले कार्यक्रम आयोजना गरिसकेपछि यहाँ भएको फोहोर सफा गर्ने कर्तव्य हाम्रै हो, अरु कसले गर्छ रु’

क्लबले फोहोर व्यवस्थापनका लागि सोलुुधकुण्ड नगरपालिकाको ४ वटा डस्टबीन बक्स प्रयोग गरेको थियो । ५ दिनसम्म निरन्तर कार्यक्रम संचालन भएको कार्यक्रमस्थलमा दर्शकहरुले खाएको सुन्तलाका बोक्रा, चुइगम, चक्लेट, खैनी, पान पराग, गुट्खा, चाउचाउको खोल, चुरोटको फिल्टरलगायतका फोहोर जम्मा भएका थिए । त्यसैगरि कागज तथा प्लास्टीक कपजस्ता फोहोर जम्मा गरि क्लबले जलाएर फोहोर व्यवस्थापन गरेको थियो ।

क्लबले ५, ७ र ८ गते राती स्थानीय र राष्ट्रिय कलाकारहरुलाई स्टेजमा उतारेको थियो । कन्सर्टका क्रममा हजारौं दर्शक कार्यक्रमस्थलमा भेला भएका थिए । सो क्रममा बढि फोहोर जम्मा भएको हो । कार्यक्रमस्थलमा रहेको फोहोरलाई व्यवस्थापन गर्नु स्वयं आयोजकको कर्तव्य रहेको क्लबले जनाएको छ ।

यसअघि क्लबले कोभिड–१९ को दोस्रो भेरियन्टको क्रममा कोरोनाबाट संक्रमित भई मृत्युभएपश्चात शव व्यवस्थापनका लागि जनचेतानमूलक कार्यक्रम संचालन गरेको थियो । त्यसपश्चात स्थापना दिवसको अवसरमा प्रदेश १ स्तरीय महिला तथा सोलुखुम्बु जिल्ला स्थानीय तह स्तरीय पुरुष भलिबल र सांगीतिक साँझको आयोजना गरेको हो ।

सांगीतिक साँझका लागि क्लबले प्रताप दास, अस्मिता अधिकारी, सुनिल कटुवाल, शेरबहादुर गुरुङ, कैलाश कार्कीलगायतका राष्ट्रिय कलाकारहरुसहित स्थानीय कलाकारलाई स्टेज प्रदान गरेको थियो । कार्यक्रममा स्यांगी, तामाङ सेलो, साकेला, कौडालगायतका सांस्कृतिक नृत्य प्रस्तुत गरिएको थियो । भलिबल प्रतियोगीतामा महिलातर्फ झापाबाट २, खोटाङबाट १, ओखलढुंगाबाट २ र सोलुखुम्बुबाट २ गरि जम्मा ७ टिमको सहभागीता रहेको थियो ।

सोलुखुम्बु जिल्लाबाहिरबाट आएका खेलाडिहरुको व्यवस्थापनका लागि आयोजकले प्रति टिम १५ हजार रुपैयाँ प्रदान गरेको थियो । त्यसैगरि परुषतर्फ सोलुखुम्बु जिल्ला भित्रका १३ टिमले सहभागीता जनाएका थिए । भलिबल प्रतियोगीतामा महिलातर्फ ओखलढुंगाले प्रथम र पुरुषतर्फ निश्चल निशानी सेवा निर्माण प्रा।ली।, सोताङले प्रथम स्थान हासिल गरेका थिए । क्लबले चाँडै नै नेतृत्व विकास सम्बन्धि कार्यक्रम सोलुखुम्बु जिल्लाव्यापी रुपमा संचालन गर्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्