सोलुखुम्बु एमालेको अध्यक्षबाट मानबीर राईको राजीनामा,अध्यक्षको जिम्मेवारी बास्तोलालाई



सोलुखुम्बु । नेपाल कम्युनिस्ट पार्टी एमाले जिल्ला कमिटी सोलुखुम्बुका अध्यक्ष मानबीर राईले पदबाट राजीनामा दिएको घोषणा गर्नु भएको छ।

जिल्ला कमिटी सोलुखुम्बुको १४ औं पूर्ण बैठकलाई शनिबार सम्बोधन गर्दै अध्यक्ष राईले उपाध्यक्ष डुफकुमार बास्तोलालाई अध्यक्षको जिम्मेवारी हस्तान्तरण गर्ने उद्देश्यले आफुले राजीनामा दिएको घोषणा गर्नुभएको हो।अध्यक्ष पद त्यागे पनि आफू एमालेको जुनसुकै जिम्मेवारीमा रहेपनि पार्टीको हित र संगठन निर्माणमा निरन्तर क्रियाशिल रहने प्रतिबद्धता व्यक्त गर्दै राईले जोश र जांगर भएका युवा ब्यक्तित्वहरुलाई नेतृत्व हस्तान्तरण गर्न पाउँदा आफू हर्षित रहेको बताउनुभयो।

राजीनामाको घोषणा गर्दै राईले जारी बैठकमा जिल्ला कमिटीको अध्यक्षमा बास्तोलासहित उपाध्यक्षमा हर्कबहादुर राई,सचिबमा आशकुमार राई ‘शिशिर’ र उपसचिवमा रामकाजी श्रेष्ठलाई प्रस्ताव गर्नुभएको थियो।वहाँको प्रस्तावलाई जिल्ला कमिटीले सर्बसम्मत रूपमा पारित गरेको थियो।राईले एमालेलाई कम्जोर बनाउनका लागि अनेकौं भ्रम फैल्याउने प्रयास बिपक्षीहरुबाट भइ रहेको बताउंदै त्यस्ता भ्रमहरुबाट मुक्त भएर एमालेलाई सशक्त बनाउन सबैले लाग्नुपर्ने बताउनुभयो।

तत्कालीन नेपाल कम्युनिस्ट पार्टीभित्र आन्तरिक द्वन्द्व चर्किरहेका बेला राई केन्द्रीय कमिटीमा मनोनीत भएपछि पनि बास्तोलाले अध्यक्षको जिम्मेवारी सम्हाल्नुभएको थियो। तर एमाले भित्रकै असन्तुष्ट समूहसंगको सम्झौता अनुसार पार्टीलाई गत ०७५ जेठ २ गतेको अवस्थामा फर्काईएपछि१३ औं बैठकबाट अध्यक्षको जिम्मेवारी पुनः राईको कांधमा आएको थियो ।

बैठक नेकपा एमाले प्रदेश नं १ संसदीय दलका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीको प्रमुख आतिथ्यमा अझै जारी छ। बैठकमा नबनियुक्त पदाधिकारी तथा जिल्ला कमिटी सदस्यहरुलाई सपथ गराईएको एमाले सोलुखुम्बुले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्