देउवाको गृहजिल्ला डडेल्धुराको वडा अधिबेशन स्वीकार गर्न नसकिने पौडेल समूहको निष्कर्ष



File Photo

काठमाडौ।नेपाली कांग्रेसको सभापति शेरबहादुर देउवा इतर समूहले सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुरामा गरिएको वडा अधिवेशन स्वीकार नगर्ने भएको छ। वरिष्ठ नेता रामचन्द्र पौडेल समूह निकट नेताहरुको सोमबार बसेको बैठकले डडेल्धुरामा यही भदौ २५ गते भएको वडा अधिबेशन बलपूर्वक प्रशासनको दूरुपयोग गरेर गरिएकोले स्वीकार गर्न नसकिने निस्कर्ष निकालेको हो।

बैठकपछि पौडेल समूहले जारी गरेको विज्ञप्तिमा डडेल्धुरा वडा अधिवेशन बलपूर्वक गरिएको भन्दै आपत्ति प्रकट गरिएको छ ।

पार्टीको जिल्ला कार्य समितिले वडा अधिवेशन नगर्ने निर्णय गरे पनि सभापति शेरबहादुर देउवाले वडा अधिवेशन गराएका थिए । जिल्ला सभापति कर्ण मल्लले जिल्लाबाट सिफारिस गरिएका क्रियाशील सदस्यको नाम काटिएको र केन्द्रबाट थपिएको भन्दै सो विवाद समाधान नभएसम्म वडा अधिवेशन नगराउने निर्णय गरेका थिए ।

वरिष्ठ नेता पौडेल समूहले सभापति देउवालाई भेटेरै वडा अधिवेशन रोक्न माग गरेको थियो । तर, प्रहरीको परिचालन गरी वडा अधिवेशन सम्पन्न गरिएको थियो । सो अधिवेशनलाई मान्यता नदिइ पुनः अधिवेशन गराउन पौडेल समूहले माग गरेको छ ।

पौडेल समूहले सुनसरीलगायतका जिल्लामा पनि प्रशासनको दुरुपयोग गरिएको भन्दै कांग्रेसको इतिहासमै यसरी प्रशासनको दुरुपयोग नभएको भन्दै लाजमर्दो भएको टिप्पणी गरेको छ । अझै २० जिल्लाको क्रियाशील सदस्यता विवाद समाधान नगरिएको भन्दै नेतृत्वको आलोचना गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्