संखुवासभामा ६ जनाको बीभत्स हत्याका आरोपीलाई भोलि सर्बजनिक गर्ने प्रहरीको तयारी

काठमाडौं।संखुवासभा हत्या प्रकरणमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । हत्या भएको पाँच दिनपछि प्रहरीले संखुवासभाको मादी नगरपालिका–१ स्थित उम्लिङ हत्याकाण्डका आरोपीलाई नियन्त्रणमा लिएको हो ।

प्रहरीले मादी-१ उम्लिङका लोकबहादुर कार्कीलाइ नियन्त्रणमा लिएको छ । कार्की मारिएका ५२ वर्षीय तेजबहादुर कार्कीका नाता पर्ने हुन् । पक्राउ परेका लोकबहादुरले २१ भदौमा तेजबहादुर कार्कीसहित ६ जनाको विभत्स हत्या गरेका हुन् ।
प्रहरीको प्रारम्भिक अनुसन्धानबाट लोकबहादुर एक्लैले आवेगमा आएर तेजबहादुरसहित ६ जनाको ज्यान लिएको खुलेको एक प्रहरी अधिकारी बताउँछन् । घटनाको बारेमा गहन अनुसन्धान भइरहेकोले यसको विस्तृत जानकारी भोलि पत्रकार सम्मेलन गरेर दिने प्रहरीले तयारी गरेको छ ।
संखुवासभामा जिल्ला प्रहरी कार्यालय प्रमुख डिएसपी लालध्वज सुवेदीले यो घटनाको विस्तृत जानकारी भोलि पत्रकार सम्मेलन गरेर दिइने बताए ।
उनले भने, ‘अहिले अनुसन्धान भइरहेको छ, धेरै कुरा अझै बुझ्दै छौं । केही कुराहरू जानकारीमा आएको छ । त्यसैले पूर्ण अनुसन्धान गरेर भोलि पत्रकार सम्मेलन गर्ने प्रहरीको तयारी छ ।’

