अर्थमन्त्रीले भने,-‘अध्यादेश बजेटलाई प्रतिस्थापन गर्न बिधेयक ल्याउने तयारी भइ रहेको छ ‘



सरकारले देशको वर्तमान आर्थिक अवस्थाको जानकारी संसद्समक्ष प्रस्तुत गर्दै अध्यादेशबाट आएको चालू आर्थिक वर्षको बजेटलाई प्रतिस्थापन गर्ने भएको छ ।

अर्थमन्त्री जनार्दन शर्माले मंगलवार प्रतिनिधि सभाको बैठकमा ‘देशको वर्तमान आर्थिक अवस्थाको जानकारी’ प्रस्तुत गर्दै देशको आवश्यकताअनुसार सरकारले अर्थतन्त्रको वास्तविक अवस्थाबारे जानकारी दिइएको बताए ।

वर्तमान सरकारले जिम्मेवारी सम्हाल्दा देशको अर्थतन्त्रका सूचक के कस्तो अवस्थामा रहेका छन् भन्ने विषयमा तथ्यांकीय झलक प्रस्तुत गरिएको र यो कोही कसैप्रति परिलक्षित नभएको उनले उल्लेख गरे । अर्थमन्त्री शर्माले अघिल्लो सरकारले जारी गरेको अध्यादेश बजेटलाई प्रतिस्थापन गर्न विधेयक ल्याउने जानकारी दिए ।

‘सत्ता सहयात्री दलहरूबीचको साझा न्यूनतम कार्यक्रम, वर्तमान सरकारको नीति र प्राथमिकता, जनचाहना तथा कोभिड–१९ महामारीको कारण सिर्जित चुनौतीसमेतको सम्बोधन हुने गरी सुधार गर्न छिट्टै नै प्रतिस्थापन विधेयक प्रस्तुत गर्नेछु,’ उनले भने ।

कोभिड–१९ महामारी नियन्त्रण नयाँ सरकारको प्राथमिक कर्तव्य भएको उल्लेख गर्दै मन्त्री शर्माले २०७८ साउन २५ गतेसम्म ४५ लाख २५ हजार ४३५ जनाले पहिलो र २६ लाख ६ हजार ४६ जनाले पूर्ण मात्रा खोप लगाइसकेको जानकारी दिए ।

उनले हालसम्म करीब १ करोड डोज खोप नेपाल भित्रिएको तथ्यांक प्राप्त भएको जानकारी दिए ।

मन्त्री शर्माले भूकम्पबाट प्रभावित अर्थतन्त्र बिस्तारै सकारात्मक दिशातर्फ अघि बढिरहेको अवस्थामा कोभिड–१९ महामारीले पुनः शिथिल बन्न पुगेको जानकारी गराए ।

Arthik jankari
प्रतिक्रिया दिनुहोस्