डा. रुपक श्रेष्ठका मुक्तकहरु



श्रृंगार रस १
गुलावको थुंगा हेर्छु तिम्रै प्रेमपत्र देख्छु
आंखा खोलुं या त चिम्लुं एकछत्र देख्छु
प्रेम अन्धा हुन्छ भन्थे झुटो रै’छ काली
तिम्रै मुहार तिम्रै मुस्कान यत्रतत्र देख्छु ।

श्रृंगार रस २
भन आज तिमीसंग खास त्यस्तो के छ
तानिराख्छौ यो मन सधैं पास त्यस्तो के छ
दर्शन पाउँदा लठ्ठिन्छु म सुन्न पाउँदा मुग्ध
सरस्वती कि कृष्णाजीको बास त्यस्तो के छ ?

करुण रस १
मुस्कुराई फुल्दा पनि भंवरा लाग्न सक्छ
कोपिला चुंडी निचोरेरै सुगन्ध दाग्न सक्छ
भारी भा’छ गुलाफलाई आफ्नै अस्मिता यो
न हांगामै सुक्न सक्छ न मृत्यु माग्न सक्छ ।

करुण रस २
गाऊँकै अनगिन्ति पैह्रोसंगै पैह्रिएको छ मन
शोकाकुल र घाईतेहरुसंगै गैह्रिएको छ मन
निसास्सिंदै अत्तालिंदै भक्कानिदै आजभोलि
ज्युँदै पुरिएको कतै लाशसंगै तैरिएको छ मन ।

हास्य रस १
धकेलेझैँ लाग्छ दाजै खोली उसैले नै
तानेपछि उनकै घरको चोली उसैले नै
तर्साए नि घरिघरि दासढुंगाको भूतले
चढाउँला झैँ गर्दैछन है डोली उसैले नै ।

हास्य रस २
गमलामा रोपाईं गरेर दुनिया हँसाउन सक्नुपर्छ
दही चिउरा स्वाद मानेर खूब चपाउन सक्नुपर्छ
महान जननेता बन्न त्यसै कहाँ सकिन्छ र हजुर
रक्तचन्दन बाली सुनको माछा पकाउन सक्नुपर्छ ।

शान्त रस १
प्रेम गर्नेलाई प्रेम जीवन गीत हो
माया गर्नेलाई यो हृदयको रित हो
प्राप्ति भन्दा समर्पण हुन्छ प्रेममा
प्रेम प्रेम नै हो न हार हो न जीत हो ।

शान्त रस २
नाटक सम्झे नाटक हौ वित्त सम्झे वित्त हौ
शरिर सम्झे शरिर अनि चित्त सम्झे चित्त हौ
हे अर्जुन तिमी सिर्फ गाण्डिव समात बस्,
गर्ने त श्रीकृष्ण हुन तिमी केवल निमित्त हौ ।

रौद्र रस १
नेता दलाल नकावधारी केहि फरक छैन
जिन्दगी र ऋणको भारी केहि फरक छैन
खानैमात्र खोज्ने जनता मार्नैमात्र खोज्ने
यो सरकार र महामारी केहि फरक छैन ।

रौद्र रस २
बेसुरमा अन्धाधुन्ध के के बर्बराउँदै हुनहुन्छ
कसैले केहि सोध्यो कि हड्बडाउँदै हुनुहुन्छ
अब त आँखा खोलिबक्सियोस न महाराज
हजुर त सर्वाङ्ग नाङ्गो लर्खराउँदै हुनुहुन्छ ।

वीभत्स रस १
कोहि हाडको लागि एकोहोरो भुकिरहेछन
बेमतलब छ दुनियाले रातदिन थुकिरहेछन
ढुङ्गाको मुटु राखेर आँखामा पट्टि बाँधेर
निरो बेसुरमा एकोहोरो बाँसुरी फुकिरहेछन ।

वीभत्स रस २
शोला हान्छ हृदयमै काँडो भयो यो जिन्दगी
गढिमाईको बेवारिशे पाडो भयो यो जिन्दगी
हरे ! न ज्यूँदोलाई छुनु न मर्नेको मलामी हुनु
मर्ने र बाँच्ने दुबैलाई घाँडो भयो यो जिन्दगी ।

भयानक रस १
जनसागरमा भयङ्कर ज्वारभाटा उठेको छ
महान धरतीमा प्रलयकारी भूकम्प छुटेको छ
होलीवाईनको नशामा ह्याङ्गओभर मेरो प्रभू
लगौंटि फालेर निर्लज्ज लम्पसार सुतेको छ ।

भयानक रस २
चिरिंदैछ यो मुटु च्यातिएरै मरिन्छ होला अब त
डरले निसास्सिएरै च्याँठिएरै मरिन्छ होला अब त
लासैलासले घेरिएर म कस्तो कामना गरूँ हजुर
लासकै थुप्रोले च्यापिएरै मरिन्छ होला अब त ।

अद्भूत रस १
हेर्दाहेर्दै कहिले प्रियसी कहिले आमा बनाईदिन्छ
परेवालाई रुमाल र रुमाललाई जामा बनाईदिन्छ
अद्वितीय छन् हाम्रा जादुगर पी सि सरकार पनि
त्यै धातु समाउँदा सुन र बुझाउँदा तामा बनाईदिन्छ ।

अद्भूत रस २
रोकि जा! भनेपछि थाना रोकिन्छ अदालत रोकिन्छ
तोकि जा! भनेपछि निर्दोष नै होस् संजाय तोकिन्छ
अद्भूत छ होलिवाईन यस्सो छर्किएर हाम्रा दुर्बासाले
चोखि जा! भनेपछि जस्तै अपराधी पनि चोखिन्छ ।

वीर रस १
जाग जाग युवा हो जाग्नुपर्छ अव
मातृभूमी जोगाउन लाग्नुपर्छ अव
लुटिएको चुटिएको धेरै भईसक्यो
हाम्रो भाग्य लुटेरालाई दाग्नुपर्छ अव ।

वीर रस २
सरसफाईको अभियान चाल्नैपर्छ चालिहालौं
कुहिएको फोहर मैलो फाल्नैपर्छ फालिहालौं
कलम उठाऊ आवाज उठाऊ चुप लागेर हुन्न
भ्रष्टाचारको सगरमाथा ढाल्नैपर्छ ढालिहालौं ।

प्रतिक्रिया दिनुहोस्