प्रदेश १ र कर्णालीमा आजबाट बजेट अधिबेशन,सुदूर पश्चिम प्रदेशमा अन्योल



काठमाडौं।प्रदेश १ र कर्णाली प्रदेशमा आजबाट बजेट अधिबेशन सुरु हुने भएको छ।

गत बिहीबार बिहान बसेको मन्त्रिपरिषद् बैठकको सिफारिसमा प्रदेश प्रमुखले सोमबार दिउँसो २ बजेका लागि र प्रदेश सरकारको सिफारिसमा गत शुक्रबार प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले कर्णालीमा सोमबारका लागि बजेट अधिवेशन आह्वान गरेका थिए।

प्रदेश १ संसद सचिवालयका प्रशासन महाशाखा प्रमुख चन्द्रमणि पोखरेलले सोमबार दिउँसोको लागि बजेट अधिवेशन बोलाइएको जानकारी दिए ।

कोरोना महामारीलाई कारण देखाउँदै समयमा प्रदेशसभा अधिवेशन नबोलाएको प्रदेश १ सरकारले आर्थिक कार्यविधि ऐन २०७४ संशोधन गर्न अध्यादेश जारी गर्ने निर्णय यसअघि गरेको थियो । कार्यविधिमा यसअघि उल्लेख भएको १५ दिनअघि पूर्वबजेट छलफल गर्नुपर्ने प्रावधानलाई संशोधन गरी पाँच दिन बनाइएको छ।

कानुनी व्यवस्था अनुसार असार १ गतेभित्र प्रदेश सरकारले बजेट ल्याउनुपर्ने हुन्छ । त्यसअघि नीति तथा कार्यक्रम र विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकताबारे छलफल गर्ने प्रचलन छ ।

उता ,सुदूरपश्चिम प्रदेशसभामा आइतबार निर्धारित बैठकमा प्रि–बजेट छलफलको कार्यतालिका थियो । तर, आर्थिक मामिला तथा योजना मन्त्रालयले आवश्यक तयारी नपुगेको जानकारी गराएपछि प्रदेशसभा सचिवालयले सूचना टाँस गरेर बैठक नै स्थगित गर्नुपर्‍यो ।

सरकारले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्नै पर्ने दिन आउन एक साता मात्रै बाँकी छ । तर, आइतबारसम्म बजेटको नीति, प्राथमिकता र सिद्धान्त (प्रि–बजेट) नै प्रस्तुत गर्न सकेको छैन । संविधानले प्रदेश सरकारहरूलाई असार १ गते बजेट प्रस्तुत गर्नुपर्ने प्रावधान छ । मन्त्रालयको आग्रहमा कार्यतालिका सोमबारका लागि सारेको प्रदेशसभा सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्