सोलुखुम्बुका ६ स्थानीय तह अक्सिजन सिलिन्डरविहिन



सोलुखुम्बु ।आठवटा स्थानीय तह रहेको सोलुखुम्बुका ६ स्थानीय तह अक्सिजन सिलिन्डरविहीन रहेको पाइएको छ । कोरोनाको दोस्रो लहरका कारण देशमा दैनिक दर्जनौँ मानिसले अक्सिजन अभावमा ज्यान गुमाइरहेको अवस्थामा जिल्लाका स्थानीय तह भने अक्सिजन सिलिन्डरविहीन रहेको पाइएको हो ।

अधिकांश स्थानीय तहमा अक्सिजन कन्सन्ट्रेटर रहेको भए पनि अक्सिजन सिलिन्डर भने छैन । सोलुदुधकुण्ड नगरपालिकाको बेनी स्वास्थ्यचौकीमा अक्सिजन कन्सन्ट्रेटर भए पनि नगरपालिकामातहतका स्वास्थ्य संस्थामा अक्सिजन सिलिन्डर नभएको स्वास्थ्य शाखा संयोजक चमर मगरले बताए ।

खुम्बु पासाङल्हामु गाउँपालिकाको सबै स्वास्थ्य संस्थामा अक्सिजन कन्सन्ट्रेटर छ, तर अक्सिजन सिलिन्डर भने नभएको स्वास्थ्य शाखा संयोजक अर्थिमाया तामाङले बताइन् । त्यस्तै, नेचासल्यान गाउँपालिका, लिखुपिके गाउँपालिका, माप्य दुधकोसी गाउँपालिकामा पनि अक्सिजन कन्सन्ट्रेटर रहेको पाइयो, तर सिलिन्डर नभएको पाइएको छ ।

जिल्लाको सोताङ गाउँपालिकामा भने दुई वडा अक्सिजन सिलिन्डर रहेको स्वास्थ्य शाखा संयोजक श्रीध्वज राईले बताए । त्यस्तै महाकुलुङ गाउँपालिकामा चारवटा अक्सिजनका खाली सिलिन्डर रहेका छन् । जिल्ला अस्पताल फाप्लुमा १० वटा अक्सिजनसहितको सिलिन्डर रहेको बुझिएको छ ।
(नयाँ पत्रिका डेली.कमबाट साभार)

प्रतिक्रिया दिनुहोस्