कोरोना नियन्त्रणमा खटिनेलाई सुरु तलब स्केलको ५० प्रतिशत भत्ता दिईने



काठमाडौं, २१ वैशाख । कोरोना सङ्क्रमण नियन्त्रणका लागि सुरक्षाकर्मीको व्यापक परिचालन गरिने भएको छ ।प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार देशवासीका नाममा सम्बोधन गर्दै चौबीसै घण्टा गल्ली र टोल–टोलमा सुरक्षाकर्मी खटाइने बताएका हुन् ।

मापदण्डको उल्लङ्घन गर्नेलाई कानुनबमोजिम कारबाहि गर्ने बताउदै ओलीले भने ‘जनस्वास्थ्य मापदण्ड पालना गराउन सुरक्षाकर्मीलाई टोल, बस्ती, गल्ली तथा अन्य ठाउँमा परिचालन गरी चौबीसै घण्टा अनुगमन र निगरानी गरिनेछ । मापदण्डको उल्लङ्घन गर्नेलाई कानुनबमोजिम कारबाही गरिनेछ ।’

यस्तै प्रधानमन्त्रीले स्वास्थ्यकर्मी, चालक, सहचालक, सफाइकर्मीलगायत कोरोना नियन्त्रणमा खटिनेहरूलाई सुरुको तलब स्केलको ५० प्रतिशतले हुन आउने रकम बराबर प्रोत्साहन भत्ता दिने घोषणा गरेका छन्।

ओलीले जनस्वास्थ्यका मापदण्ड पालनाको नेतृत्व गृह मन्त्रालयले र जनचेतनाको नेतृत्व सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले गर्ने समेत बताएका छन् । कोरोना परीक्षण, उपचार तथा अन्य विषय स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले र खोप आयातको नेतृत्व परराष्ट्र मन्त्रालयले गर्ने पनि जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्