पलाञ्चोक मन्दिर बन्द, नित्य पूजा भने नरोकिने



काठमाडाैं। कोरोना भाइरस संक्रमणको जोखिम बढेसँगै पलाञ्चोक भगवती मन्दिरमा सार्वसाधारणलाई पूजा र दर्शन गर्न रोक लगाइएको छ। पाँचखाल नगरपालिकाले आइतबारदेखि नित्य पूजा बाहेकका अरु अन्य पूजापाठलगाय सम्पूर्ण क्रियाकलाप अनिश्चितकालका लागि बन्द गरेको हो।

मठमन्दिरमा दर्शनार्थीको भिडले कोरोना संक्रमणको जोखिम अझै बढ्ने सम्भावना भएकाले नगरस्तरीय विपद् व्यवस्थापन समितिको निर्णयानुसार सर्वसाधारणलाई दर्शन र पूजापाठ गर्न बन्द गरिएको नगरपालिका प्रमुख महेश खरेलले बताए। नित्य पूजा भने निरन्तर चल्ने उनको भनाइ छ।

पञ्लाञ्चोकसँगै नगरभित्रका अन्य मठमन्दिरमा समेत सर्वसाधारणलाई अर्को सूचना नभएसम्मका लागि पूजा र दर्शन गर्न बन्द गरेको नगरपालिकाले जनाएको छ।

यसैबीच नगरभित्रका सबै विद्यालय आइतबारदेखि एक हप्ताका लागि बन्द गरिएको छ। सञ्चालन हुन लागेका परीक्षा भने स्वास्थ्य मापदण्ड र भौतिक दूरी कायम गरी सञ्चालन हुने तयारी भइरहेको नगर प्रमुख खरेलले बताए।

नगरपालिकाले नागरिकको स्वास्थ्यलाई ध्यानमा राख्दै पाँचखाल समाजकल्याणमा अक्सिजनसहितको १५ शय्याको आइसोलेसन तयारी अवस्थामा राखेको उनले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्