नेकपा सोलुको प्रशिक्षणमा प्रचण्ड- माधवले सम्बोधन गर्ने



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सोलुखुम्बु दाहाल-नेपाल समूहद्वारा गठित संघर्ष समितिले माघ २९ गते काठमाडौंमा प्रशिक्षण कार्यक्रमको आयोजना गर्ने भएको छ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जिल्ला कमिटीद्वारा गठित संघर्ष समिति, र सोलुखुम्बु- काठमाडौं सम्पर्क मञ्च संघर्ष परिचालन समितिद्वारा नवदुर्गा पार्टी प्यालेश सुकेधारामा संयुक्त रुपमा आयोजना गरेको सो प्रशिक्षणलाई अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले सम्बोधन गर्ने बताइएको छ।

कार्यक्रममा अध्यक्षद्वयसँगै केन्द्रीय सदस्य तथा सोलुखुम्बु जिल्ला ईन्चार्ज हेमकुमार राई (सुरबीर)लगायत केन्द्रीय तहका नेताहरु, प्रदेशका नेताहरुकोसमेत विशेष उपस्थिति हुनेछ ।

नेकपा सोलुखुम्बुले नेता आङङिमा लामाको संयोजकत्वमा जिल्ला सचिव कज्र्याङ शेर्पा सहसंयोजक, ध्रुब पराजुली सचिव र हिमाल गिरी प्रवक्ता रहेको एक संघर्ष समिति गठन र अनिल राई संयोजक र तेन्जिङ शेर्पा सह संयोजक रहेको सोलुखुम्बु- काठमाडौं सम्पर्क समन्वय संघर्ष समिति गठन गरेको थियो।समितिले प्रधानमन्त्री केपी ओलीको संसद विघटनलगायत कदमविरुद्ध चरणबद्ध आन्दोलन गरिरहेको छ ।

संघर्ष समितिले यसअघि प्रत्येक स्थानीय तहहरुमा विभिन्न संघर्षको कार्यक्रम सञ्चालन गर्नुका साथै प्रत्येक स्थानीय तह स्तरको संघर्ष समिति समेत गठन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्