सोलुदुधकुण्ड नगरपालिकालाइ सोलु कांग्रेसको ज्ञापनपत्र,टाक्टोर- लामाजुरा सडकको काम अघि बढाउन माग



केदार बस्नेत

सोलुखुम्बु,२६ माघ।नेपाली कांग्रेस सोलुखुम्बुले सोलु-दुधकुण्ड नगरपालिकाको टाक्टोरदेखि लिखुपिकेको लामाजुरासम्म ट्र्याक ओपन गर्न बाँकी रहेकोे ४ किमी सडकको काम तत्काल अघि बढाउन आग्रह गरेको छ।

सोलु-दुधकुण्ड नगरपालिकालाई सोमबार ध्यानाकर्षणपत्र बुझाउंदै कांग्रेस केन्द्रीय सदस्य बलबहादुर केसीको नेतृत्वमा गएको सोलु कांग्रेसको टोलीले सो आग्रह गरेको हो।नगरपालिकाका मेयर नाम्गेलजाङ्बु शेर्पा र कार्यकारी अधिकृतको अनुपस्थिमा लेखा अधिकृत बिपिन लम्सालमार्फत सो ध्यानाकर्षणपत्र बुझाइएको कांग्रेस सोलुका प्रचार बिभाग प्रमुख नवीन थापाले जानकारी दिए।

थापाका अनुसार फाप्लु विमानस्थलमा नेपाल एयरलाईन्सको फ्लाइटको व्यवस्था मिलाउन पहल गर्न , दुधकोशीको जुभिङघाटमा टेण्डर भएर पनि रोकिएको पुल निर्माणको काम सकेकोले अगाडि बढाउन समेत नगरपालिकाको ध्यानाकर्षण गराइएको छ।यस्तै नेपाली कांग्रेस सोलुखुम्बुले नगरपालिकामा भएको लोडसेडिङ कम गर्न तथा हाइटेन्सन लाईन व्यवस्थित गर्न पनि आग्रह गरेको छ।

यस्तै फाप्लु सल्लेरी हुँदै दोर्पुसम्मको सडकमा ठेकेदारको लापरबाही तत्काल छानबिन गरी कार्बाही गर्न तथा बाँकी रहेको कार्य अगाडी बढाउन समेत आग्रह गरेको च।

यस्तै कांग्रेसको प्रमुख भातृ संघ नेपाल विद्यार्थी संघले पनि नगरपालिकाको विभिन्न विषयमा ध्यानाकर्षण गराएको छ।विद्यार्थीहरुलाई यातायातमा ५०प्रतिशत छुट हुनुपर्ने, नगरपालिकाको विभिन्न विद्यालयमा विभिन्न बहानामा बढी शुल्क लिंदै आएकोले उक्त कार्य बन्द गर्नुपर्ने, चारित्रीक प्रमाणपत्र लिने सन्दर्भमा एकरूपता हुनुपर्ने, सहभागी एवं नेपाल विद्यार्थी संघ सोलुखुम्बुका सभापति अस्बिनबाबू थापाले जानकारी दिए।

टोलिमा नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा पुर्वमन्त्री बल बहादुर केसीसहित जिल्ला सभापति बिनोद कुमार बस्नेत, महासमिति सदस्य एवं संगठन विभाग प्रमुख खिलराज बस्नेत, जिल्ला सचिव तथा प्रदेश सभा( क)का सभापति धनजन राई, अर्का जिल्ला सचिव भलाकाजी कुलुङ, जिल्ला सहसचिव कुशराज राई, नेपाली कांग्रेस सोलुखुम्बु जिल्ला सदस्य नवीन थापा, नेपाल विद्यार्थी संघ सोलुखुम्बुका सभापति अस्बिनबाबू थापा नेपाल महिला संघका उपाध्यक्ष एका कुमारी बस्नेत, दलित संघका नेता लोक बहादुर दर्जी लगायत सहभागी थिए।ध्यानाकर्षणपत्र बुझ्दै नगरपालिका लेखा अधिकृत लम्सालले नेपाली कांग्रेस सोलुखुम्बुले उठाएका मागहरु पूरा हुने बताउनुभएको छ।

प्रतिक्रिया दिनुहोस्