सोलुखुम्बु : माघ ५ गते नेकपा ओली समूहले अगुवा कार्यकर्ता भेला गर्दै



सोलुखुम्बु,१ माघ। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सोलुखुम्बु जिल्ला कमिटीले सल्लेरीमा अगुवा कार्यकर्ताहरुको बृहत भेला आयोजना गर्नेभएको छ।

गृहमन्त्रीसमेत रहेका नेकपा सचिवालय सदस्य रामबहादुर थापा (बादल) को प्रमुख आतिथ्यमा जिल्ला समन्वय समितिको हलमा माघ ५ गते आयोजना गरिने भेलामा जिल्लाका ओली पक्षीय नेता कार्यकर्ताहरु सहभागी हुने बताइएको छ।प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेयता सो समूहले जिल्लामा गर्न लागेको यो पहिलो औपचारिक कार्यक्रम हो।कार्यक्रमलाई प्रदेश कमिटी अध्यक्ष जीवन घिमिरे लगायत अन्य केन्द्रीय नेताहरूले सम्बोधन गर्ने नेकपा जिल्ला कमिटी सोलुखुम्बुले जनाएको छ।

जिल्ला कमिटी अध्यक्ष मानबीर राइसहित प्रदेश सांसदहरू उत्तम कुमार बस्नेत,बुद्धिकुमार राजभण्डारी, जिल्ला समन्वय समिति अध्यक्ष बीरकुमार राइ, नेचासल्यान र सोताङ गाउँपालिका अध्यक्षहरु क्रमशः डुफकुमार बास्तोला र बीरबहादुर राइ ओली समूहमा खुलेरै लागेका छन।

जिल्लामा नेकपा प्रचण्ड- माधव समूहको नेतृत्व भने जिल्ला इन्चार्ज समेत रहेका केन्द्रीय सदस्य हेमकुमार राई ‘सूरबीर’ ले गर्दै आएका छन।सो समूहले जिल्लाका अधिकांश स्थानीय तहमा कार्यकर्ता भेला र प्रशिक्षण कार्यक्रम सन्चालन गरिसकेको छ।

प्रतिक्रिया दिनुहोस्