माओवादी केन्द्र वैकल्पिक शक्तिको रुपमा उदाउँदै तीनवटा पार्टी बीच आज एकता हुँदै



काठमाडौं । दुई तिहाई बहुमतको नजिक रहेका नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको आन्तरिक कलहका कारण असंवैधानिक तवरले संसद विघटन गरेसँगै देशमा संसदीय व्यवस्था अन्त्य भएको घोषणा गर्दै नेकपा (माओवादी केन्द्र) ले सर्वदलीय सरकारको माग गर्दै आएको छ । यसरी सर्वदलीय सरकारको माग गर्दै आएको माओवादी केन्द्र पछिल्लो घटनाक्रमले वैकल्पिक शक्तिको रुपमा उदाउँने देखिएको छ ।

पार्टीका पूर्व अध्यक्ष गोपाल किरातीमा देखिएको बैचारिक विचलनपछि किरातीलाई कारबाही गरि पार्टीको मङ्सिर ८,९ र १० गते काठमाडौको जोरपाटीमा भएको केन्द्रीय समितिको बैठक तथा विशेष भेलाले तत्कालीन महासचिव कर्णजित बुढाथोकी सुशीललाई नेतृत्व सम्हाल्ने जिम्मेवारी दिएसँगै पार्टीका सांगठनिक गतिविधिहरुले तिव्रता पाउँदै पार्टी एकता र ध्रुवीकरणमा व्यापकता पाएको छ ।

जस अनुसार यहि पुस २३ गते काठमाडौंमा बसेको नेकपा (माओवादी केन्द्र), माओवादी जनमुक्ति पार्टी, नेपाल र नेकपा संयुक्त (क्रान्तिकारी) बीच पार्टी एकता गर्ने निर्णयसँगै काठमाडौं अनामनगर स्थित संवाद डबलीमा आज ११ बजे पार्टी एकता घोषणा सभा हुने हामीलाई जानकारी प्राप्त भएको छ ।

प्राप्त जानकारी अनुसार पार्टी एकताका लागि २३ गते बसेको सर्वदलीय बैठकमा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष कर्णजित बुढाथोकी सुशील, माओवादी जनमुक्ति पार्टी, नेपालका अध्यक्ष सुमन श्रेष्ठ (जितेन्द्र) र नेकपा संयुक्त (क्रान्तिकारी) का संयोजक नारायण थापाको संयुक्त हस्ताक्षर सहित पार्टी एकताको लागि निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्