माओवादी केन्द्र प्रदेश नम्बर एककाे सचिवालय बैठक सम्पन्न



धरान/ नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र ) प्रदेश नम्बर १ काे सचिवालयको विशेष बैठक आज धरानमा सम्पन्न भएको छ । सचिवालय बैठक माओवादी केन्द्रका वरिष्ठ नेता तिलक थापा मगरको विशेष उपस्थितिमा भएको हाे । पार्टीका पूर्व अध्यक्ष गाेपाल किरातीमा वैचारिक विचलन आएपछि पार्टीकाे राजनीतिक परिषदकाे निर्णयबाट कारवाही स्वरुप अध्यक्ष पदबाट राजीनामा दिएकाे तर राजीनामा दिईसकेकाे व्यक्तिले अध्यक्षकै हैसियतमा सामान्य राजनीतिक धर्म समेत भुलेर पार्टीको सम्पूर्ण संगठन भंग गरे पश्चात् माओवादी केन्द्रले मंसिर ८,९ र १० गते काठमाडौंकाे बाैद्धमा पार्टीको आधिकारिक केन्द्रीय समितिकाे बैठक र विशेष भेला गर्दै पार्टीका महासचिव कर्णजित बुढाथोकी सुशीललाई सर्वसम्मतले अध्यक्षमा निर्वाचित गरेकाे थियाे । अध्यक्ष कर्णजितलेे जिम्मेवारी सम्हालेसँगै नेकपा (माओवादी केन्द्र) मा व्यापक ध्रुवीकरण, अन्य पार्टीबाट पार्टी प्रवेशकाे लहर र पार्टी संगठन गतिशील र चलायमान बन्दै गएकाे छ । किरातीले नेतृत्व लिंदा २ वर्षसम्म अनिर्णयको बन्दी र गतिविधि ठप्प रहेकाेे माओवादी केन्द्रमा अहिले व्यापक संगठन विस्तारसँगै क्रान्तिकारीहरुबीच ध्रुवीकरण बढेेकाे छ । प्रदेश १ काे आज बसेकाे सचिवालय बैठकले विभिन्न कार्यबिभाजन गर्दै जिम्मेवारी समेत ताेकेकाे छ । बैठकले राजनीतिक परिषद सदस्य स्मृति रिजाल लाई मेची ब्यूरो इन्चार्जको जिम्मा तोक्दै अर्का राजनीतिक परिषद सदस्य बाबुलाल पासावनलाई फ्याक्सन प्रदेश इन्चार्ज तोकेकाे छ । साथै पार्टीका केन्द्रीय सदस्य रमेश न्यौंपानेलाई कोशी ब्यूरोको इन्चार्ज, केन्द्रीय सदस्य दिनेश खड्कालाई कोशी ब्यूरो संयोजक तोकेकाे छ । त्यस्तै देश कुमार राईलाई वाईसीएल प्रदेश इन्चार्ज, केन्द्रीय सदस्य आनन्द कोइराला र योगेन्द्र ऋषिदेवलाई मजदुरको जिम्मा दिने निर्णय गरेकाे छ । बैठक पार्टीका स्थायी कमिटी सदस्य तथा प्रदेश नम्बर १ का अध्यक्ष लक्ष्मण कार्कीको अध्यक्षतामा सम्पन्न भएको हाे ।

प्रतिक्रिया दिनुहोस्