के प्रचण्डसंग जालान त माधब र झलनाथ ?



काठमाडौं, मङ्सिर ७ – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को विवाद अहिले गम्भीर मोडमा पुगेको छ । पार्टी एकता कायम नै रहन्छ वा पार्टी नै विभाजन हुन्छ ? अनिश्चित छ ।

प्रधानमन्त्री एंव पार्टी अध्यक्ष केपी शर्मा ओेलीलाई कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल लगायतको गुटले बारम्बार अप्ठ्यारोमा पारेपछि नेकपाभित्रको विवाद निक्कै गहिरिएको छ । आफ्नै पार्टीभित्रका शीर्ष नेताले गरेको प्रतिपक्षीको भन्दा पनि कडा व्यवहारले प्रधानमन्त्री अप्ठ्याराेमा पर्नुभएको छ ।

कात्तिक २८ गतेकाे सचिवालय बैठकमा ओलीविरुद्ध प्रचण्डले राजनीतिक प्रस्तावको नाममा आराेपपत्र प्रस्तुत गरेपछि नेकपाकाे विवाद अझ बढेको छ । दोस्रो पुस्ताका नेता विवाद समाधानका लागि लागिरहेका भएपनि परिणाम सकारात्मक आउन सकेको छैन ।

नेकपा महासचिव विष्णु पौडेलले त बस्तीमा खोला पसेकाले दुई थरी दुई किनार लाग्नुपर्ने अवस्थासम्म आउन सक्ने प्रतिक्रिया दिनुभएको छ । पार्टी एकता गम्भीर संकटमा परेको पौडेलको भनाइ छ ।

प्रचण्डसँग भेट गर्नुभएका नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङले समेत प्रचण्ड आफ्नो अडानबाट पछि नहटेको प्रतिक्रिया दिनुभएको छ । सचिवालयमा आफूले पेस गरेको दस्तावेजले बाहिर नराम्रो सन्देश नगएको प्रचण्डको प्रतिक्रिया रहेको नेम्वाङको भनाइ छ ।

पूर्व एमाले र पूर्व माओवादी तर्फका नेता आआफ्नै अडानमा रहे नेकपामा विभाजन पनि आउन सक्ने अनुमान गरिएको छ । पार्टीमा विभाजनको अवस्था आयो भने अहिले प्रचण्डलाई साथ दिइरहनुभएका माधव नेपाल, झलनाथ खनाल लगायत नेता प्रचण्डसँग जानहुन्छ त ? याे प्रश्न आफैमा गम्भीर छ ।

नेकपाका पुराना नेता लेखक तथा राजनीतिक विश्लेषक प्रदिप नेपाल भन्नुहुन्छ,‘माधव नेपाल, झलनाथ खनाल लगायत पूर्व एमालेहरु कुनै पनि हालतमा प्रचण्डसँग मिसिएर जाँदैनन् ।’ नेपाल भन्नुहन्छ, ‘यिनीहरुको विचार नै मिल्दैन, के गरी सँगै बस्छन् ?’

अहिले नेपाल प्रचण्डसँग मिसिन जानुको एक मात्र कारण प्रधानमन्त्रीलाई भनेको काम नगरिएको आक्रोश मात्र रहेको उहाँको विश्लेषण छ । ‘माधव नेपालको गुनासो छ, प्रधानमन्त्रीले मेरो केही काम गरिदिनुभएन भन्ने, त्यही रिसमा नेपाल प्रचण्डसँग मिल्नुभएको हो, पार्टी फुटको तहमा पुग्दा उहाँ प्रचण्डसँग जानुहुन्न’, प्रदीप भन्नुहुन्छ ।

केपी हुन् वा माधव नेपाल पूर्वएमालेहरु जनताको बहुदलीय जनवादका पक्षधर हुन् । तर पूर्व माओवादीले भने अहिलेसम्म जनताको बहुदलीय जनवादलाई स्वीकारेको छैन । त्यसैले पनि पार्टी फुटेको अवस्थामा पूर्व एमाले पूर्वमाओवादीसँग सँगै रहने सम्भावना हुँदैन ।

त्यसो भए नेकपा के हुन्छ त ? नेकपा फुट्दैन । फुटेर प्रचण्डको जाने ठाउँ काहीँ छैन । ‘फुट्ने अवस्था आए पनि फुट्ने होइन केही असन्तुष्ट चोइटिन्छन्, पूर्व माओेवादीका पनि धेरै नेता कार्यकर्ता अब नेकपामा नै हुन्छन्’, प्रदिप नेपालको विश्लेषण हो यो ।

प्रतिक्रिया दिनुहोस्