के संकटकाल लगाउंदै छन् ओली ?



काठमाडौं, ७ मंसिर – प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार चारवटै सुरक्षा निकायका प्रमुखसँग छलफल गरेका छन् । प्रायः छुट्टाछुट्टै सुरक्षा निकायका प्रमुखसँग भेट हुनेमा आज एकैसाथ भेट भएको छ । नेपाल कम्युनिस्ट पार्टीभित्र विवाद बढ्दै गएको र प्रधानमन्त्री ओलीले कठोर कदम चाल्न सक्ने संकेट गरिरहँदा यसलाई निकै चासोका साथ हेरिएको छ ।

प्रधानमन्त्रीले शनिबार साँझ तीन घन्टा प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरे । ओली र देउवाबीचको गोप्य छलफलले राजनीतिक वृत्तमा तरंग ल्याएको छ । उनले देउवासँग सत्ता साझेदारीको प्रस्ताव समेत राखेका छन् । देउवालाई सम्भावित नेकपा दुर्घटनापछि मिलेर जाने प्रस्ताव ओलीबाट आएको छ । त्यसको भोलिपल्ट ओलीले सुरक्षा निकायका प्रमुखहरुसँग छलफल गरेका छन् । यो भेटबारे बताउन नमिल्ने प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले बताएका छन् ।

नेकपा विवादको दश दिनको युद्धविराम सकिन पाँच दिनमात्र बाँकी छ । यो अवधिमा ओलीले विभिन्न विकल्प राखेर तयारी थालिसकेका छन् । उनले यसअघि संसद बिघटन गरी मध्यावधिमा जाने विकल्प पनि राखेको चर्चा छ । यसलाई नेकपाभित्रै उनका विश्वासपात्रले रोक्न सफल भए । तर, त्यो कदम चाल्ने सम्भावना टरेको मात्र हो समाप्त भएको भने होइन ।

संसदको बजेट बैठक चाँडे अन्त गरियो । ओलीले आफूविरुद्धको सम्भावित अविश्वासको प्रस्तावलाई उक्त कदमबाट टारिदिए । तर, हिउँदे अधिवेशन अझै डाकिएको छैन । यसको ढिलाईप्रति आशंका बढेको छ । ओलीले सत्ता संकटसँगै संसद बिघटन गर्ने सम्भावना पनि देखिनथालेको छ । यस्तो कदम चाल्दा पार्टीभित्रको विरोधी विफल हुने बुझाईका साथ ओली अगाडि बढ्न खोजिरहेका छन् ।

कोरोना भाइरसको महामारी बढिरहेकोले ओलीले संकटकाल घोषणाको सिफारिश गर्ने सम्भावना पनि छँदैछ । संविधान अनुसार पनि महामारीको बेलामा संकटकाल घोषणा गर्न मिल्छ । अहिलेको समय ओलीका लागि संकटकाल घोषणा गर्न अनुकूल नभएको होइन । संकटकाल घोषणा भएमा सत्ता संकटको चुनौती थपिएको अहिलेको परिस्थिति एकाएक फरक हुनसक्छ । ओलीले सुरक्षा निकायका प्रमुखहरुसँग भेट्नुलाई यस्तो कदम चाल्ने तयारीका रुपमा पनि हेरिएको छ ।

प्रधानमन्त्री ओलीले जुनसुकै परिस्थितिमा पनि राजीनामा नदिने बताइसकेका छन् । उनले आफूले राजीनामा दिएमा देश बर्बादीमा जाने पनि बताए । उनीमाथि नेकपाभित्र राजीनामाको दबाब बढिरहेको छ । तर, ओलीले राजीनामा नदिने बताएसँगै उनी कठोर कदम चालेर जाने तयारीमा देखिएका छन् । त्यसै उद्देश्यले उनी सक्रिय भएका छन् ।

ओलीले नेकपा विवाद नमिलेमा विरोधीमाथि कठोर अस्त्र फाल्ने संकेत गरेका छन् । त्यो अस्त्रमा नेकपा दुर्घटना देखि संकटकाल घोषणा या संसद बिघटन गरी मध्यावधि चुनावको घोषणा सम्म पनि हुनसक्छ । ओली बरु यी कदम चाल्ने तयारीमा छन् तर सत्ता छाड्न तयार देखिदैनन् ।

प्रतिक्रिया दिनुहोस्