खुम्बु पासाङल्हामु : सगरमाथा पदमार्ग निर्माण सम्पन्न



खगिन्द्रराज बास्तोला

सोलुखुम्बु , २४ भाद्र । जिल्लाको खुम्बु पासाङल्हामु गाउँपालिका वडा नं-४ मा सगरमाथा पदमार्ग निर्माण सम्पन्न भएको छ । उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालय पर्यटन विकास आयोजना प्रदेश नं – १ सगरमाथा पदमार्ग निर्माण/ सुधार र स्तरोन्नति कार्यक्रम अन्तर्गतको विनियोजित १ करोड रुपैयाँको लागतमा सो पदमार्ग निर्माण गरिएको निर्माण समितिका अध्यक्ष पेमा छोसाङ शेर्पाले जानकारी दिनुभयो ।

सो पदमार्ग नाम्चे, खुम्जुङ हुँदै गोक्यो, फोर्चे जाने फार्लम लाम बाटो निर्माण कार्य सम्पन्न भएको हो । शेर्पा भाषामा फार्लम लाम भन्नाले बीचको बाटो हो भन्ने बुझिन्छ । ४०० मिटर लम्बाई १३ फिट चौडाई भएको उक्त बाटो सिंढी तथा रेलिङ लगाएर जोखिम नियन्त्रण मुक्त बनाइएको सगरमाथा पदमार्ग निर्माण उपभोक्ता समितिका अध्यक्ष शेर्पाले बताउनु भयो ।

विगत ३ महिना अघिबाट शुरु गरिएको पर्यटकीय पदमार्ग निर्माण सम्पन्न भएसँगै जोक्पे, घरपालुवा जनावर, पर्यटक, पर्यटक भरिया र स्थानीयबासीलाई समेत आवातजावतमा सहज हुने विश्वास निर्माण उपभोक्ता समितिको रहेको छ । स्थानीय युवाहरुको सक्रियता, खुम्बु पासाङल्हामु गाउँपालिका वडा न.- ४ का वडा अध्यक्ष लक्ष्मण अधिकारी, पालिका प्रवक्ता लाक्पाछिरी शेर्पा र समग्र पालिकाको साथ सहयोगबाट निर्माण कार्य सहज भएको निर्माण समितिका अध्यक्ष शेर्पाको भनाइ छ ।

निर्माण कार्य हुनुभन्दा अगाडि सो बाटो मानिस तथा घरपालुवा जनावर आवातजावतमा समेत कठिनाइ भएको तथा थुप्रै घटना समेत घट्ने गरेको र पदमार्ग निर्माण सम्पन्न भएपछि आफूहरुमा खुसी छाएको स्थानीयबासीहरु बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्