दाहालको ‘गणतन्त्रको पहिलो दशक’ बजारमा



 

काठमाडौं,१५ साउन। नेकपा अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले संविधानसभा र व्यवस्थापिका संसदमा व्यक्त गरेको विचारहरुको सँगालो ‘गणतन्त्रको पहिलो दशक’ पुस्तक बजारमा आएको छ। बिहिवार सार्बजनिक पुस्तकमा २०६५ सालदेखि २०७५ सालसम्म संविधानसभा र व्यवस्थापिका संसदमा अध्यक्ष दाहालले व्यक्त गरेका विचार विभिन्न ४२ शीर्षकमा समेटिएका छन् ।

प्रज्ञा स्मृति प्रतिष्ठान, नेपालले प्रकाशन गरेको उक्त पुस्तकमा संसदीय राजनीतिबाट सशस्त्र युद्धमा लैजान सक्ने, सशस्त्र युद्धलाई शान्तिपूर्ण रूपान्तरण गराउन सक्ने, सशस्त्र युद्ध र शान्तिपूर्ण जनआन्दोलनलाई संयोजन गराउन सक्ने, जनयुद्ध र जनआन्दोलनले उठाएका संघीयता, गणतन्त्र, समावेशी, समानुपातिक प्रतिनिधित्वलगायत विषय समावेश छन्।

२४० वर्ष लामो राजतन्त्र परास्त गरी संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्ने संविधान निर्माण र त्यो संविधानअन्तर्गत रहेर स्थानीय, प्रादेशिक र संघीय निर्वाचन गराउन गरिएका संघर्षलाई पुस्तकले उजागर गरेको बताइएको छ। विभिन्न राजनीतिक शक्तिहरुबीच भएका संघर्ष, पुरानो व्यवस्थाको प्रतिनिधित्व गर्ने वर्ग, संस्कृति र विचारसँगको टकराव एवम् रूपान्तरणका अनेक प्रयास यसमा उल्लेख गरिएको छ। ३८५ पृष्ठको पुस्तकको मूल्य ५०० राखिएको छ। पुस्तक देशका विभिन्न सहरका पुस्तक पसलमा उपलब्ध हुने प्रतिष्ठानले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्