राजनेताजस्तो गरी रञ्जन कोइराला जेलबाट निस्कनु दुर्भाग्य– नेतृ कट्टेल



काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ) की नेतृ सुधा कट्टेलले श्रीमती हत्याको मुद्यामा जेल परेका सशस्त्र प्रहरी वल नेपालका पूर्व डिआजी रञ्जन कोइरालालाई सर्वोच्च अदालतले कैद सजाय छुट दिएकोमा आपत्ति जनाएकी छिन् ।
उनले सर्वोच्चको निर्णय अस्वभाविक भएकाले यसमा धेरै शंका गर्ने ठाउँ भएको टिप्पणी गरेकी छिन् । श्रीमती गिता ढकालको हत्याको आरोपमा २० वर्ष जेल परेका उनी ८ वर्ष ६ महिना कैद भुक्तान गरेर केही दिनअघि रिहा भएका छन् । नेतृ कट्टेलले कोइराला छुटेपछि समाजमा र परिवारमा थप डरको वातावरण भएको बताएकी छिन् । ‘समाजमा गलत काम गर्ने हत्यारा, अपराधी, व्यभिचारीलाई यसरी छोड्दै जाने हो भने न्याया मरेको हुन्छ यो दुर्भाग्य हो ’ उनले भनिन् ‘ २१ औं शताव्दी भनिए पनि अझै हामी १७ औं शताव्दीको जस्तो व्यवहार गरिरहेका छौं, योभन्दा ठूलो गल्ती अरु हुन सक्दैन ।’ राजनेताजस्तो गरी रञ्जन कोइराला जेलबाट निस्कनु दुर्भाग्य भएको उनको बुझाई छ ।
कट्टेलले पुरुषप्रधान समाज भन्दै जहाँ पनि पुरुषकै कुरा लागु हुनुले धेरै ठाउँमा आशंका जन्माएको समेत टिप्पणी गरेकी छिन् । उनले अहिले साना बालिका, बृद्धा, बेवारिसे महिलामाथि हुने गरेका बलात्कार र यौन शोषणमा संलग्नलाई विभिन्न ढंगबाट बचाउने र अपराध लुकाउने षड्यन्त्र भएको भन्दै कानुनी शासन स्थापना भएको हेर्न मानिसले कहिलेसम्म प्रतिक्षा गर्नुपर्ने हो भनी प्रश्न गरेकी छिन् । २ वर्षअघि कञ्चनपुरमा वलात्कारपछि हत्या गरिएकी निर्मला पन्तको अपराधीलाई बचाउन र यो घटना दबाउन प्रहरी प्रशासन नै लागिपरेको दावी गरेकी छिन् । ‘सरकार नै अपराधी जोगाउन लाग्छ, प्रत्येक घटनालाई ढाकछोप गर्न अर्को अभिव्यक्ति दिएर पन्छिने गरेको छ’ उनले भनिन् ‘ न्यायाको तराजुले सबैलाई समान देख्न नसक्दा यो अवस्था आयो, न्यायमा कसैलाई पनि पार्टी, वर्ग र जातजाति छुट्याइनु दुर्भाग्य हो ।’
महिलाका पक्षमा अभियान चलाउने संघसंस्थाले २५ प्रतिशतसम्म पनि काम गर्न नसकेको उनको आरोप छ । उनले पार्टीका महिला संघ संगठन पनि यस विषयमा सक्रिय भएर नबोलेको स्पष्ट पारेकी छिन् । उनले महिला राष्ट्रपति भएको देशमा महिलामाथि नै यस्तो अन्याय हुनु विश्वका लागि नै लाजमर्दो विषय भएको भन्दै असन्तुष्टि जनाएकी छिन् । ‘केही महिलालाई ठाउँ दिएको छ, यो राम्रो कदम हो तर त्यतिले मात्र महिलाका हक अधिकार सुरक्षित हुन सक्दैन’ उनले भनिन् ‘ महिला नै सभामुख र प्रधान न्यायाधीश भइसक्नुभएको छ तर पनि महिलामा सधैं विभेद गरिन्छ र विश्वास पनि कम गरिनु सबैको लागि चुनौतीको विषय हो ।’
उनले रञ्जन कोइरालाको घटना एउटा प्रतिनिधिमूलक मात्र भएको र यसरी नै धेरै अपराधी उम्किरहेकाले बेलैमा सजग र सचेत रहन पनि आग्रह गरेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्