दुधकोशी सामुदायिक अस्पताललाई बान्तवा परिवारको ५ लाख सहयोग
लावण फुयल
काठमाडौं, २२ असार ।सोलुखुम्बु जिल्लाको थुलुङ दुधकोशी गाउँपालिकामा निर्माणाधीन दुधकोशी सामुदायिक अस्पताललालाइ ५ लाख रुपैयाँ सहयोग प्राप्त भएको छ।
नेपाल प्रहरीका पूर्व एआईजी रामकाजी बान्तवाले सो सहयोग रकम गाउँपालिका अध्यक्ष अशिम राइलाइ हस्तान्तरण गर्नुभएको हो। स्वर्गीय पिता पूर्ब प्रधान टेकबहादुर राई र माता पद्मकुमारी राइको सम्मान तथा सम्झनामा बान्तवासहित उनकी पत्नी मुगा बान्तवा तथा दाजुहरु केराइ सिं राई र हेम कुमार राई (हाल युके )का तर्फबाट सो सहयोग प्राप्त भएको अध्यक्ष राइले जानकारी दिनुभयो ।
ग्रामीण भेगका जनतालाई सुलभ मुल्यमा स्वास्थ्य सेवा उपलब्ध गराउने उदेश्यले निर्माण भैरहेको अस्पताल सम्पन्न गर्न यो सहयोग असाध्यै महत्वपूर्ण साबित भएको बताउंदै अध्यक्ष राइले पवित्र र महान उदेश्यले गर्नुभएको महत्वपूर्ण सहयोगका लागि बान्तवा परिवारलाई हार्दिक धन्यवाद प्रकट गर्नुभएको छ।
गाउँपालिकाको केन्द्र मुक्लिमा निर्माण भैरहेको अत्याधुनिक तथा सुबिधा सम्पन्न ५० सैय्याको सो अस्पतालका लागि दाताहरुबाट निरन्तर सहयोग प्राप्त भैरहेको राइले जानकारी दिनुभयो।