नेकपा विवाद : निर्णायक बार्ताले निकाल्ला निकास ?



काठमाडौं, २१ असार ।एकाएक बिभाजनको संघारमा पुगेको सत्तारुढ नेकपालाई फुटबाट जोगाउने प्रयासस्वरूप आज अध्यक्षद्वय केपी शर्मा ओलि र पुष्पकमल दाहाल बीच निर्णायक वार्ता हुने भएको छ।

दुबै समुह आआफ्नै अडानमा रहेका बेला हुन लागेको निर्णायक बार्तामा तेस्रो तथा नयाँ विकल्पका रूपमा मंसिर ४ मा भएको सहमति कार्यान्वयन गर्दै प्रधानमन्त्री ओलीले पार्टीको म्यान्डेट बाहिर नगई सरकार चलाउने, सरकार सञ्चालन गर्न माधव कुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम लगायतका नेता रहेको ५ सदस्यीय कार्यदल गठन गर्ने, केही मन्त्री र मुख्यमन्त्री हेरफेर गर्ने विषयमा छलफल केन्द्रित हुने बताइएको छ।

बिहान १० बजेका लागि तय भएको बैठकले यसबारे निकास नदिए पार्टी विभाजनको चरणमा प्रवेश गर्ने स्रोतको भनाइ छ ।

जारी स्थायी कमिटी बैठक बिहीबारदेखि स्थगित गर्दै निकास खोज्ने प्रयासमा लागेका शीर्ष नेताहरू विवाद मिलाउन भन्दा पनि आ(आफ्नो शक्ति देखाउन क्रियाशिल हुँदा शनिबार बस्ने भनिएको दुई पक्षको बैठकसमेत हुन सकेन ।

प्रधानमन्त्री ओलीले शनिबार साँझ मन्त्रीहरूलाई बालुवाटार बोलाएर आ(आफ्नो कित्ता स्पष्ट गर्न निर्देशन दिइसकेका छन् । उनीइतरको समूहले ओलीलाई कारबाही गर्नेसम्मको तयारी गरेको छ ।

शनिबार बिहान तथा साँझसम्म पटकपटक भएका प्रचण्ड(नेपाल समूहको बैठकले विधि र पद्धतिभन्दा बाहिर गएर प्रधानमन्त्रीले धम्क्याउन थालेको र युवाहरूलाई प्रदर्शनमा उतार्न थालेकाले अब स्थायी कमिटी बैठकलाई निरन्तरता दिएर आवश्यक निर्णय गर्ने तयारी गरेको छ ।

उक्त सूचना पाएलगत्तै प्रधानमन्त्री ओली अझ उत्तेजित बन्दै मन्त्रीहरूलाई अब आफू वारपारको चरणमा प्रवेश गर्न लागेको र त्यसमा को कुन समूहमा लाग्ने भनेर आ(आफ्नो बाटो स्पष्ट गर्न मन्त्रीलाई निर्देशन दिएका छन्।

शनिबार साँझ मन्त्रीहरूसँग भएको आकस्मिक बैठकमा ओलीले आफूविरूद्ध अविश्वासको प्रस्ताव र राष्ट्रपतिविरूद्धसमेत महाअभियोग लगाउनेसम्मको तयारी भएपछि संसद् अधिवशेन अन्त्य गरिएको बताएका थिए ।

ओलीले तीन दिनअघि यही असार १७ गते राति कांग्रेस सभापति शेरबहादुर देउवासँग गोप्य भेटसमेत गरेका छन् । उक्त भेटमा सत्तासमीकरणका विषयमा छलफल भएको हुन सक्ने भन्दै ओली इतरको समूह अझ सशंकित भएको छ ।

यद्यपि कांग्रेसले भने उक्त भेट सत्तासमीकरणका विषयमा नभइ संवैधानिक निकायमा रिक्त पदपूर्तिका विषयमा भएको प्रष्ट्याएको छ ।

स्थायी कमिटीका ४४ सदस्यमध्ये कम्तीमा ३० जना प्रधानमन्त्री ओलीले राजीनामा दिनुपर्ने पक्षमा उभिएका छन्।

प्रधानमन्त्री ओलीले प्रधानमन्त्री र अध्यक्ष दुवै पद कुनै हालतमा पनि नछोड्ने अडान लिएका छन् भने दाहालले दुईमध्ये एक पद छाड्नै पर्ने दबाब दिएका छन् ।

ओलीले दुवै पद नछाड्ने तर २०७६ मंसिर ४ को सहमतिअनुसार अघि बढ्न सकिने जवाफ दिएका छन् । मंसिर ४ को सहमतिमा ओलीले पाँच वर्ष सरकार चलाउने र प्रचण्डले कार्यकारी अध्यक्षको हैसियतमा पार्टी चलाउने उल्लेख छ ।

तर, मंसिर ४ को यो सहमति ओलीकै कारण कार्यान्वयन नभएको भन्दै प्रचण्डले २०७५ जेठ २ को सहमतिअनुसार अघि बढ्नुपर्ने अडान लिदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्