टिचिङमा कोरोना संक्रमित ४६ दिने शिशुको मृत्यु
काठमाडौ, १८ असार । त्रिवि शिक्षण अस्पताल (टिचिङ) मा कोरोना संक्रमण देखिएर उपचाररत एक शिशुको मृत्यु भएको छ ।
४६ दिनका शिशुको मंगलबार बेलुका कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ देखिएको अस्पतालको कोभिड व्यवस्थापन समिति सदस्य विपिन उपाध्यायले जानकारी दिए । ती शिशुको जन्म सोही अस्पतालमै भएको थियो । शिशुलाई श्वासप्रश्वासको समस्या देखिएपछि अस्पतालमै राखिएको थियो । उनको समस्या बढ्दै गएपछि सोमबार घाँटीको शल्यक्रिया (ट्रयाक्टेस्टोमी) गरिएको अस्पतालले जनाएको छ।
ती शिशुलाई कोरोना परीक्षणको रिपोर्ट मंगलबार पोजेटिभ आएपछि उनलाई आइसोलेसन वार्डमा राखिएको थियो । “हिजो (बुधबार) साँझ ४ बजेतिर मृत्यु भएको हो,” उनले भने, “शिशुको शव बुधबार व्यवस्थापन गरिएको छ ।”