सेयर बजारमा आज पनि उछाल
काठमाडौं, १७ असार ।सत्तारुढ दल नेकपाभित्र प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारको विकल्प बारे गरमागरम बहस भइरहेका बेला शेयर बजारमा भने लगातार दोस्रो दिन पनि उछाल आएको छ।

ओली नेतृत्वको सरकार फेरिने चर्चा चलेपछि लगानीकर्ताहरु उत्साहित बन्दा बजारमा उछाल आएको एक शेयर ब्रोकरले बताए। लगानीकर्ताहरुमाझ अर्थमन्त्री डा। युवराज खतिवडा शेयर बजारप्रति सकारात्मक नभएको छवि छ । ब्यांकमा पर्याप्त तरलता र ब्याजदर घटेको, कारोबारको नियममा परिवर्तन लगायतका कारणले पनि लगानीकर्तालाई उत्साहित बनाएको ती ब्रोकरको दाबी छ।
शेयर बजार विश्लेषक तथा लगानीकर्ता निरन्जन टिवडेवाला पनि सरकार फेरिने चर्चाले बजारलाई उचालेको बताउँछन् । “धेरै लगानीकर्तामा सरकार शेयर बजारप्रति सकारात्मक छैन भन्ने बुझाइ छ,” उनले भने । टिवडेवाला शेयरको पुँजीगत लाभकर बारेको अन्योल हटेको, धितोपत्र बोर्ड नेतृत्व लगानीकर्ताप्रति सकारात्मक रहेको तथा ब्यांक ब्याजदर घटेकाले पनि लगानीकर्ताको मनोबल बढेको बताउँछन्।
बुधबार नेप्से परिसूचक ६ प्रतिशत अंकले बढेपछि सकारात्मक सर्किट ब्रेकर लागेर कारोबार स्थगित गरिएको छ । बजार खुल्ने बित्तिकै बढ्न थालेको बजार पहिलो आधा घण्टामै ४ प्रतिशतले बढेर सर्किट ब्रेकर लागेको थियो । त्यसपछि पनि बजार ५ प्रतिशतले बढेपछि ४० मिनेटका लागि कारोबार रोकिएको थियो । तेस्रो पटक पनि नेप्से परिसूचक उकालो लाग्ने क्रम नरोकिएर ६ प्रतिशतले परिसूचक बढेपछि बुधबारका लागि कारोबार स्थगित गरिएको हो।
लामो समय बन्द भएर गत सोमबारदेखि खुलेको शेयर बजारमा पहिलो दिन १३ अंकको गिरावट आएको थियो । तर, मंगलबार बजारमा उछाल आएर नेप्से परिसूचक ६ प्रतिशतभन्दा धेरै बढेपछि कारोबार शुरु गरिएको करीब दुई घण्टामै बजार बन्द गरिएको थियो । बुधबार पनि कारोबार शुरु भएको डेढ घण्टामै बजार असाध्यै बढेपछि कारोबार स्थगित गरिएको हो।
बुधबार नेप्से परिसूचक ७५।७७ अंकले बढेर १ हजार ३३६ विन्दुमा पुगेको छ । १३५ कम्पनीका रु। ४० करोड ७३ मूल्य बराबरका शेयर किनबेच भएका छन्।
बुधबार होटलबाहेक सबै समूहका उपसूचक बढेका छन् । सबैभन्दा धेरै ब्यांकिङ समूह ७।५५ प्रतिशतले बढेको छ । जीवन बीमा समूह ७।४३ प्रतिशतले बढेको छ।
बुधबारको कारोबारबाट सबैभन्दा धेरै सिटिजन्स ब्यांकका लगानीकर्ताले १० प्रतिशत नाफा कमाएका छन् । साना किसान ब्यांक, नागरिक लगानी कोष, नेशनल लाइफ इन्स्योरेन्स, आरएमडीसी लघुवित्त, बुटवल पावर कम्पनी, गुराँस लाइफ इन्स्योरेन्स आदिका लगानीकर्ताले पनि ९ प्रतिशतभन्दा धेरै नाफा गरेका छन्।
तीन पटक सर्किट ब्रेकर लागेर बजार बन्द हुँदा पनि नेशनल माइक्रोफाइनान्ससहितका ६ वटा कम्पनीका लगानीकर्ताले भने गुमाएका छन्।