नेकपा एमाले दर्ता हुनेभएपछि नेकपामा नयाँ तरंग



काठमाडौ,१६ असार । दुई दिनअघि निर्वाचन आयोगमा नेकपा एमाले पार्टी दर्ताको लागि निवेदन परेपछि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा ) मा नयाँ तरंग उत्पन्न भएको छ।

पार्टीका दुई अध्यक्ष केपी शर्मा ओलि र पुष्पकमल दाहालबीचको मतभेद उत्कर्षमा पुगेका बेला ओलिकै गृह जिल्ला झापाकि सन्ध्या तिवारीले २५ सदस्यीय केन्द्रिय समितिसहित नेकपा एमाले नामको दल दर्ताका लागि निवेदन दिएपछि  भित्र नयाँ तरंग उत्पन्न भएको हो।मुख्य गरि नेकपाभित्रको ओलि इतर पक्षले दल दर्ता प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलिको रणनीति हुनसक्ने आशंका गरेको बताइन्छ।

दर्ताको निवेदन कसले दियो भन्नेबारे आजको नेकपा स्थायी कमिटी बैठकमा गम्भीर छलफल भएको छ। इतर पक्षको यहि आशंकाका कारण जारी सचिवालय बैठकमा मंगलबार अध्यक्ष पुष्पकमल दाहालले अर्का अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओलीसँग जबाफ माग गरेको प्रबक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन।

ती व्यक्ति पार्टीभित्रकै हो वा बाहिरका व्यक्तिले भन्नेबारे जानकारी नभएको प्रवक्ता श्रेष्ठको भनाइ छ। प्रवक्ता श्रेष्ठले निवेदनका सम्बन्धमा अर्को बैठकमा पनि छलफल हुने जानकारी दिए। आजको बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीको पछिल्लो अभिव्यक्तिबारे पनि नेताहरुले जबाफ मागेका थिए।

प्रधानमन्त्री ओलीले मदन भण्डारी फाउन्डेसनले आयोजना गरेको कार्यक्रममा आफूलाई हटाउन होटल र दूतावासमा छलफल भइरहेको बताएका थिए। कसैले राजीनामा मागेको भए अर्थात् पदबाट हटाउन चाहेको भए पार्टीको आन्तरिक बैठकमा छलफल गर्नुपर्ने भनाइ नेताहरुको थियो।

आज १८ जना स्थायी कमिटीका नेता बोलेका थिए। अध्यक्ष केपी शर्मा ओली, पुष्पकमल दाहाल, माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम, नारायणकाजी श्रेष्ठ, अष्टलक्ष्मी शाक्य, भीम रावल, रघुजी पन्त, युवराज ज्ञवाली, सुरेन्द्र पाण्डे, जनार्धन शर्मा, भीम आचार्यलगायतले धारणा राखेका थिए। अर्को बैठक भोलि ११ बजे बालुबाटारमै बस्नेछ।

प्रतिक्रिया दिनुहोस्