अमेरिकी राष्ट्रपति ट्रम्पबिरुद्द पक्राउ पूर्जी !



एजेन्सी । इरानले आफ्नो वरिष्ठ सैनिक कमाण्डर जनरल क्‍वासिम सुलेमानीको हत्यामा संलग्‍न भएको आरोपमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसहित ३५ जनाविरुद्ध पक्राउ पूर्जी जारी गरेको छ ।

इरानले उनीहरुको पक्राउका लागि सहयोग गर्न इन्टरपोललाई आग्रह गरेको छ ।

अमेरिकाले गत जनवरी ३ मा आतंवादी गतिविधि गराएको भन्दै रिभोलुसनरी गार्ड फोर्सका कमाण्डर सुलेमानीको इराकको राजधानी बगदादमा ड्रोन आक्रमणमा हत्या गरेको थियो । अमेरिकाले इराकमा रहेका अमेरिकी सेनामाथि आक्रमणको योजना बनाएको आरोप लगाएको थियो ।

उनको हत्यामा संलग्‍नलाई ‘हत्या र आतंकवाद’ को आरोप लगाइएको सरकारी वकिल अली अलकासिमेरले बताएका छन् ।

पक्राउ पुर्जी जारी गरिएहरुमा ट्रम्पबाहेक अन्यको नाम खुलाइएको छैन । इन्टरपोलले पनि यस विषयमा प्रतिक्रिया दिइसकेको छैन ।

इरानले ट्रम्पविरुद्ध रेड नोटिस जारी गर्न समेत इन्टरपोललाई आग्रह गरेको बताइएको छ । रेड नोटिस कुनै पनि आरोपितलाई पक्राउ गर्न इन्टरपोलले जारी गर्ने सबैभन्दा उच्चस्तरीय सूचना हो ।

प्रतिक्रिया दिनुहोस्