सरकारबिरुद्ध राप्रपाका महिलाहरु सडकमा,भ्रष्टाचार र असुरक्षा बढेको आरोप



काठमाडौं, ११ असार । राप्रपाको भातृ संगठन राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनले सरकारको कार्यशैली विरुद्ध राजधानीमा बृहत बिरोध प्रदर्शन गरेको छ।

नेपालको नयाँ नक्सा पारित गर्ने र बैबाहिक अङ्गिकृत नागरिकता ऎन संशोधन गर्नुबाहेक यो सरकारले अन्य राम्रो काम गर्न नसकेको आरोप लगाउंदै सो संगठनले बढ्दो महिला हिंसा,  भ्रष्टाचार र अन्य बिकृति विरुद्ध विरोध प्रदर्शन गरेको संगठनकि अध्यक्ष मिना सुबेदीले जानकारी दिइन।

बुधबार माइतीघर मण्डलाबाट सुरु भएको बिरोध प्रदर्शनमा भ्रष्टाचारीलाई कारवाही गर, महिला हिंसाको अन्त्य गर, महिलामैत्री क्वारेन्टिन र बलात्कारीलाई सजायको माग गर्दै नाराबाजी गरिएको थियो। विरोध र्याली बानेश्वरमा पुगेर सम्पन्न भएको थियो ।

बिरोध र्‍यालीलाई महिला नेत्रीहरु कुन्ती शाही, मिना सुवेदी र बिजय कला राई लगायतले सम्बोधन गरेका थिए।
सम्बोधनका क्रममा नेत्री सुबेदीले पिसिआर परीक्षणको दायरा बढाउनु पर्ने, १० अर्बको हिसाब जनतालाइ पारर्दर्शी गर्नु पर्ने,संसद बिकास कोष खारेज गर्नु पर्ने,बिदेशमा बसेका नेपालीको उद्दार गर्नु पर्ने, बैंकको ब्याज र किस्ता उठाउन बन्द गर्नु पर्ने,सुकुम्बासी आयोग खारेज गर्नुपर्ने बताएकी थिइन।

महिला नेतृ विजयकला राईले, लोकतन्त्रको नाममा राष्ट्रघाती काम हुन लागेको भन्दै सरकारको खरो आलोचना गरे । कोरोना महामारी विरूद्ध सरकारी व्यवस्थापन कमजोर रहेको टिप्पणी गर्दै, क्वारेन्टिनमा महिला बलात्कृत हुँदा सरकार टुलुटुल हेरेर बसेको भन्दै आक्रोश व्यक्त गरिन ।

प्रतिक्रिया दिनुहोस्