थुलुङ दुधकोसी : थप दस बेडको सुबिधायुक्त आइसोलेसन वार्ड स्थापना, आगामी बर्षका लागि झण्डै ४२ करोडको बजेट



सोलुखुम्बु, १० असार । कोरोना भाइरस (covid-19) को रोकथाम तथा नियन्त्रणका लागि आफ्नो पूर्ब तयारीलाई चुस्त बनाउंदै लगेको जिल्लाको थुलुङ दुधकोसी गाउँपालिकाले थप १० बेडको आइसोलेसन वार्ड स्थापना गरेको छ।

गाउँपालिकाको केन्द्रमा मुक्लिमा स्थापित १० बेडको सो आइसोलेसन वार्डको गाउँपालिका अध्यक्ष असिम राइले बुधबार उद्घाटन गर्नु भएको हो।गाउँपालिकाको पांचौ गाउँ सभाको समापनसंगै उद्घाटन गरिएको सो आइसोलेसन वार्डसंगै थुलुङ दुधकोसीमा कुल आइसोलेसन वार्डको संख्या १६ पुगेको अध्यक्ष राइले जानकारी दिनु भयो।अध्यक्ष राइका अनुसार यसअघि गाउँपालिकाले मुक्ली,नेले र लोखिममा २।२ बेड गरि जम्मा ६ बेडको आइसोलेसन वार्डको स्थापना गरेको थियो।

नवनिर्मित आइसोलेसन वार्डमा अक्सिजन कन्सन्ट्रेटर , पल्स अक्सिमिटर, नेबुलाइजर लगायतका स्वास्थ्य सामाग्रीहरुको ब्यबस्था समेत गरिएको अध्यक्ष राइले जानकारी दिनुभयो ।

सो गाउँपालिकाले कोरोना भाइरस संक्रमणलाइ दृष्टिगत गरि १ सय ८० बेडको क्वारेन्टाइन सन्चालनमा ल्याएको छ। ९ वार्ड रहेको गाउँपालिकाका प्रत्येक वडामा सुरुवाती चरणबाटै २० बेडका दरले क्वारेन्टाइन सन्चालनमा ल्याइको थियो।

आइसोलेसन वार्ड उद्घाटन अघि बुधबारै सम्पन्न सो गाउँपालिकाको ऐतिहासिक पाँचौ गाउँसभाले आर्थिक वर्ष २०७७र०७८ को लागि ४१करोड ९५ लाख १७ हजार ५ सय पचास रुपैयाँ बराबरको बजेट पारित भएको जानकारी पनि अध्यक्ष राइले दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्