सोलुखुम्बुका सबै स्थानीय तह भोलि बिदा गरिने



लावण फुयल
सोलुखुम्बु , ३ असार ।सोलुखुम्बु जिल्लामा रहेका आठवटै स्थानीय तह बिहिवार एक दिन बिदा गरिने भएको छ।
जिल्ला समन्वय समितिको कार्यालयमा संघीय सांसद हेमकुमार राई ‘सुरबीर’ र जिल्लाका सबै स्थानीय तहका प्रमुखहरुको उपस्तिथिमा बुधबार सम्पन्न बैठकले खुम्बु पासाङल्हामु गाउँपालिका अध्यक्ष ङिमदोर्जी शेर्पाको निधनमा शोक मनाउन बिहिवार एक दिन बिदा दिने निर्णय गरेको हो ।
क्यान्सर रोगबाट पीडित शेर्पाको मंगलबार आफ्नै निबास लुक्लामा निधन भएको थियो। बैठकले सबै स्थानीय तहमा शेर्पाको फोटो र शोकपुस्तिका राख्ने निर्णय पनि गरेको समन्वय समितिका अध्यक्ष बीरकुमार राइले जानकारी दिए।
समन्वय समितिका अध्यक्ष राइको अध्यक्षतामा बसेको बैठकले समृद्ध सोलुखुम्बु निर्माणको अभियानमा अहोरात्र खटिनुहुने अध्यक्ष शेर्पाको निधनले खुम्बु पासाङल्हामु गाउँपालिका लगायत सिङ्गो सोलुखुम्बुलाई अपुरणिय क्षति पुगेको ठहर गर्दै शेर्पाद्वारा कोरिएका सपना पूरा गर्न प्रतिबद्ध रहने निर्णय पनि गरेको छ।
सो बैठकमा सांसद राइका साथै सोलुदुधकुण्ड नगरपालिका प्रमुख नाम्गेल जाङ्बु शेर्पा, थुलुङ दुधकोशी गाउँपालिका अध्यक्ष असिम राई,नेचासल्यान गाउँपालिका अध्यक्ष डुफकुमार बास्तोला,महाकुलुङ गाउँपालिका अध्यक्ष सागर किराँती,माप्य दुधकोशी गाउँपालिका अध्यक्ष बुद्धिकिरण राई,सोताङ गाउँपालिका अध्यक्ष बीरबहादुर राई,लिखुपिके गाउँपालिका अध्यक्ष डम्बर बहादुर बस्नेत,सोलुदुधकुण्ड नगरपालिका उपप्रमुख कल्पना राई र लिखुपिके उपाध्यक्ष प्रमिला बस्नेतको उपस्थिति रहेको थियो।
प्रतिक्रिया दिनुहोस्