नेचासल्यान : स्वदेश र बिदेशबाट भित्रनेहरुका लागि क्वारेन्टाइनको छुट्टाछुट्टै ब्यबस्था !
लावण फुयल
(फोटो:सामाजिक सन्जाल) सोलुखुम्बु , २८ जेठ । जिल्लाको नेचासल्यान गाउँपालिकाले बिदेश र देशभित्रकै कोरोना संक्रमण प्रभावित अन्य जिल्लाबाट पालिका भित्रने ब्यक्तिहरुका लागि क्वारेन्टाइनको फरक-फरक ब्यबस्था लागू गर्ने भएको छ।
पालिका अध्यक्ष डुफकुमार बास्तोलाको अध्यक्षतामा मंगलबार बसेको गाउँकार्यपालिकाको बैठकले बिदेशबाट आउनेहरूका लागि गाउँपालिकाले निर्माण गरेको क्वारेन्टाइन र मुलुक भित्रैबाट गाउँ फर्कने ब्यक्तिहरुका लागि होम क्वारेन्टाइनमा राख्ने निर्णय गरेको हो।होमक्वारेन्टाइनमा बस्ने ब्यक्ति का लागि अभिभावकको प्रतिबद्धतासहित छुट्टाछुट्टै घर, भान्छा र शौचालयको ब्यबस्था भएको हुनुपर्ने गाउँपालिकाको निर्णयमा उल्लेख गरिएको छ।
यस अघि सो गाउँपालिकाले बिदेश, तराई र छिमेकी गाउँपालिकाबाट भित्रीने ब्यक्तिलाई पालिकाले निर्माण गरेको क्वारेन्टाइनमा राख्ने निर्णय गरेको थियो।
बैठकले गाउँपालिका भित्रने मालबाहक सवारी साधनहरु बेलुकी ७ बजेदेखि विहान ४ बजेसम्म मात्र प्रवेश गर्न दिने निर्णय पनि गरेको छ। अन्यत्रवाट ल्याइएका खाद्यान्न तथा निर्माण सामग्री बजार केन्द्रवाट टाढै स्टोर गर्न आग्रह गर्दै बैठकले निर्माण सामग्री सम्बन्धित आयोजनास्थलमा पुर्याउने, निर्माण सामग्री र खाद्यान्न ल्याउने सवारी चालक र सम्बन्धित व्यक्तिहरु सम्भव भएसम्म गाउँपालिकामा बास बस्नु नपर्ने व्यवस्था मिलाउने, बास बस्नै पर्ने अवस्थामा सम्बन्धित व्यवसायीले खानपान र कपडाको व्यवस्था गरी गाउँपालिकाद्वारा निर्मित क्वारेन्टाइनमा राख्ने निर्णय भएको गाउँपालिकाले जनाएको छ।
गाउँपालिका भित्रिनुपूर्व नाकामा सवारी साधन सेनिटाइज स्प्रे गर्ने, निर्माण सामग्री र खाद्यान्न सामग्री लोड अनलोड गर्ने श्रमिकलाई सुरक्षित राख्ने विधि अपनाउन पनि बैठकले सरोकारवालाहरुलाइ आग्रह गरेको छ।
बैठकले प्रधानमन्त्री स्वरोजगार कार्यक्रमका लागि गाउँपालिकालाई प्राप्त १० लाख रुपैयााले नेचासल्यान गाउँपालिकाको वडा नम्बर १ पानीचौर, फिफिरे, छेलोहान्ने सडकको विभिन्न भाग सोलिङ गर्ने निर्णय गरेको छ ।